काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा यो सिनेमाको टिकट पाइनेछ ।
विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका छन् ।
“स्कुल, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाइ अब सेभेन सिज सिनेमाले चलचित्र रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ,” निर्माता पौडेलले भने, “ नेपालभरका सहभागी सिनेमाघरहरूमा ५० प्रतिशत छुट लागु भइसकेको छ ।”
शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको निर्माता पौडेलले बताएका छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन् ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।
शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।









