बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट ल्याएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।
जस अनुसार पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख बजेट विनियोजन गरिएको छ । साथै वित्तीय व्यवस्थातर्फ ३ अर्ब ५५ करोड समेत गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट प्रस्तुत गरिएको छ ।
बजेटका स्रोतमा आन्तरिक राजस्वबाट ६ अर्ब ६१ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३१ करोड तथा वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, ससर्त अनुदानबाट ४ अर्ब ४५ करोड, समपूरक अनुदानबाट ७६ करोड र विशेष अनुदानबाट ६३ करोड प्राप्त हुने उल्लेख गरिएको छ । त्यसैगरी नेपाल सरकारबाट रोयल्टीबाट प्राप्त हुने ३० करोड र ३ अर्ब ७३ करोड नगद मौज्दातबाट व्यहोर्ने उल्लेख छ ।









