• २०८३ असार १ सोमबार

बङ्गलादेशी प्रधानमन्त्रीका सल्लाहकारलाई भारतको दिल्ली विमानस्थलमा रोकियो

बङ्गलादेशी प्रधानमन्त्रीका सल्लाहकारलाई भारतको दिल्ली विमानस्थलमा रोकियो

काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्रीका सल्लाहकार डा. जाहेद उर रहमानलाई भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको घटना सार्वजनिक भएको छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई अध्यागमन अधिकारीहरूले करिब दुई घण्टा प्रतीक्षालयमा राखेर विभिन्न विषयमा सोधपुछ गरेका थिए । त्यसपछि उनले आफ्नो राहदानी फिर्ता माग्दै भारत प्रवेश नगर्ने निर्णय गरेका थिए । पछि उनी कोलम्बो हुँदै सोमबार बिहान ढाका पुगेका हुन् । उनी इन्डियन ओसन रिम एसोसिएसन (आइओआरए) को वरिष्ठ अधिकारीहरूको बैठकमा सहभागी हुन दिल्ली गएका थिए ।

बङ्गलादेशका एक परराष्ट्र मन्त्रालय अधिकारीका अनुसार शुक्रबार नै नयाँदिल्लीस्थित बङ्गलादेश उच्चायोगले भारतको परराष्ट्र मन्त्रालयलाई आधिकारिक जानकारी दिँदै डा. जाहेद आइओआरए बैठकमा बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाएको थियो । बङ्गलादेशका उच्चायुक्त एम. रियाज हमिदुल्लाहले पनि भारतीय अधिकारीहरूसँग यस यात्राबारे छलफल गरेका थिए ।

यस घटनापछि ढाकामा केही अधिकारीहरूले यसलाई रहस्यमय भन्दै प्रश्न उठाएका छन् । उनीहरूको भनाइमा, पहिले नै आधिकारिक जानकारी दिइएको भए पनि विमानस्थलमा यस्तो अवस्था किन सिर्जना भयो भन्ने स्पष्ट छैन ।

डा. जाहेद निकट स्रोतहरूले भने उनको नाम भारतीय सुरक्षा निकायको निगरानी सूचीमा रहेको दाबी गरेका छन्, जसका कारण अतिरिक्त जाँच गरिएको हुनसक्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार भारतविरोधी सामग्रीसँग जोडिएको आरोपका कारण उनको नाम सूचीमा राखिएको हुनसक्छ । तर भारतीय अधिकारीहरूले यसबारे कुनै पुष्टि वा खण्डन गरेका छैनन् ।

जानकारी अनुसार डा. जाहेदले कूटनीतिक राहदानी होइन, सामान्य बङ्गलादेशी राहदानी र सार्क भिसामा यात्रा गरिरहेका थिए । साथै उनीसँग यस यात्राका लागि कुनै सरकारी सिफारिस पत्र पनि नरहेको बताइएको छ । दिल्लीस्थित बङ्गलादेश उच्चायोगका अधिकारीहरूले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । तर एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, मिसनका सबै शाखालाई यस घटनाबारे जानकारी नरहेको बताएका छन् ।

रिपोर्टमा भारतीय अधिकारीहरूले डा. जाहेदसँग कुनै दुर्व्यवहार नगरेको र यात्रा समन्वय र सूचना आदानप्रदानमा कमी हुँदा यस्तो अवस्था बनेको हुनसक्ने बताइएको छ । हालसम्म कुनै आधिकारिक स्पष्टीकरण सार्वजनिक भएको छैन ।

ढाकामा सम्पूर्ण घटनाको समीक्षा भइरहेको र तथ्य स्पष्ट भएपछि आगामी निर्णय लिइने बताएका छन् । नयाँदिल्लीबाट औपचारिक प्रतिक्रिया पर्खिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै