काठमाडौँ । अमेरिकाले उत्तर कोरियात निर्यात हुने केही चिकित्सा उपकरणमाथि थप कडा नियन्त्रण लागू गरेको छ । अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले नयाँ सूची सार्वजनिक गर्दै ती उपकरण निर्यात गर्न अब विशेष सरकारी स्वीकृति अनिवार्य हुने जनाएको छ ।
सूचीअनुसार अक्सिजन उत्पादन गर्ने उपकरण, प्रतिमिनेट एक लिटरभन्दा बढी प्रवाह क्षमता भएका पम्प, गामा इमेजिङ उपकरण, स्पर्श आधारित इमेजिङ प्रणाली, तापीय तस्बिर खिच्ने यन्त्र, शीत–सुकाउने तथा स्प्रे–सुकाउने उपकरण, प्रदूषणमुक्त बनाउने स्नान प्रणाली, प्रयोगशाला शेकर, इन्क्युबेटर शेकर तथा कार्बन डाइअक्साइड इन्क्युबेटर रहेका छन् र अब यी उपकरण सामान्य अनुमतिपत्रको दायराबाट हटाइएका छन् ।
यसअघि कृषि उत्पादन, औषधि तथा केही चिकित्सा उपकरणहरू सामान्य अनुमतिपत्रमार्फत उत्तर कोरियात निर्यात गर्न सकिने व्यवस्था थियो । नयाँ नियमअनुसार सूचीमा रहेका उपकरण निर्यात गर्नुअघि विशेष अनुमति लिनुपर्नेछ। यो व्यवस्था तत्काल लागू भएको अमेरिकी पक्षले जनाएको छ ।
विश्लेषकहरूका अनुसार अमेरिकाले नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग हुन सक्ने उपकरणहरूको पहुँच सीमित गर्न यस्तो कदम चालेको हो । उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेका बेला यो निर्णय आएको हो । वासिङ्टन र सियोलसँग उत्तर कोरियाको आणविक कार्यक्रमबारे हुने वार्ता लामो समयदेखि अवरुद्ध रहेको छ ।









