काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।
बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश नम्बर बीएडी ९२०१ को रातो रङको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल लुकाएर ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले कारको खोजी गरेको थियो।
जेठ ३० गते ब्यूरोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२३ स्थित गैरी गाउँबाट नख्खुतर्फ आउँदै गरेको अवस्थामा उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल फेला पारेको थियो। रोक्न संकेत गर्दा पनि दुवै सवारीसाधन नरोकी भाग्न खोजेपछि प्रहरीले कारको पछाडिको दाहिने टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।
त्यसपछि गरिएको खानतलासीका क्रममा कारको पछाडिको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा कारमा सवार एक जना र मोटरसाइकलमा रहेका दुई जना गरी तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहार राज्य सितामढी जिल्लाको जानकी स्थान–१८ निवासी ३२ वर्षीय अहमद लड्न तथा जानकी स्थान–६ निवासी ३३ वर्षीय महमद सद्दाम रहेका छन्।
प्रहरीले घटनास्थलबाट ३० हजार क्याप्सुल ट्रामाडोल, एउटा सुजुकी कार, एउटा मोटरसाइकल तथा पाँच थान मोबाइल फोन बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।









