• २०८३ जेठ ३१ आइतबार

इन्जुरी समयमा कतारको गोल, स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी

इन्जुरी समयमा कतारको गोल, स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ । यससँगै कतारले विश्वकपको अन्तिम चरणमा पहिलो पटक अंक हासिल गरेको छ ।

खेलभर दबाबमा रहेको कतारका लागि बुलेम खौखीले ९४औँ मिनेटमा होमाम एल अमिनको क्रसलाई हेडमार्फत जाली चुमाउँदै बराबरी गोल गरेका थिए । अन्तिम समयमा आएको उक्त गोलपछि प्रशिक्षक जुलेन लोपेटेगीको टोलीले उत्साहपूर्ण खुसी मनाएको थियो ।

खेलको अधिकांश समय स्विट्जरल्यान्डले नियन्त्रणमा राखेको थियो । पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरलाई ब्रिल एम्बोलोले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

कतारका गोलरक्षक महमुद अबुनादाले रेमो फ्रुलरलाई लडाएपछि स्विट्जरल्यान्डले खेलको १७औं मिनेटमा पेनाल्टी पाएको थियो। यद्यपि टेलिभिजन पुनर्प्रसारणमा फ्रुलर आक्रमणको सुरुआती क्रममा सामान्य अफसाइड अवस्थामा देखिएको थियो ।

एम्बोलोको गोलपछि स्विट्जरल्यान्ड सहज जिततर्फ अघि बढिरहेको देखिएको थियो । तर अवसरहरूको सदुपयोग गर्न नसक्दा स्विट्जरल्यान्डले महत्त्वपूर्ण दुई अंक गुमायो । नटिङ्घम फरेस्टका आक्रमणकर्ता डान न्दोयेले केही उत्कृष्ट अवसर खेर फाले भने रुबेन भार्गास र एम्बोलोले पनि सहज गोलका मौका गुमाए । लामो समयसम्म खेलमा कमजोर देखिएको कतारले अन्तिम क्षणमा अवसरको फाइदा उठाउँदै अप्रत्याशित रूपमा एक अंक हात पार्न सफल भयो ।

अब कतारले अर्को खेल जुन १९ मा क्यानडासँग र जुन २५ मा बोस्निया हर्जगोभिनासँग खेल्ने छ । त्यस्तै स्विजरल्याण्डले जुन १९ मा बोस्निया हर्जगोभिनासँग र जुन २५ मा क्यानडासँग खेल्ने तालिका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै