काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती इरानमाथि 'अत्यन्त ठूलो आक्रमण' गर्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानी नौसेना, वायुसेना, राडार, हवाई प्रतिरक्षा प्रणाली तथा अधिकांश आक्रमण क्षमता पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै थप सैन्य कारबाही हुने बताएका हुन् । ट्रम्पले निकट भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप तथा अन्य तेल पूर्वाधारमाथि नियन्त्रण स्थापित गर्ने र इरानको तेल तथा ग्यास बजारमा पूर्ण नियन्त्रण हासिल गर्ने दाबी समेत गरेका छन् ।
उनले भनेका छन्- 'अमेरिकाले इरान (जसको नौसेना, वायुसेना, राडार, विमान विरोधी, र अन्य सबै प्रकारका रक्षा, यसको अधिकांश आक्रामक क्षमता सहित, समाप्त भइसकेको छ !) लाई आज राती धेरै कडा प्रहार गर्नेछ । धेरै टाढाको भविष्यमा, हामी खार्ग टापु र अन्य तेल पूर्वाधार बिन्दुहरू कब्जा गर्नेछौं, र तिनीहरूको तेल र ग्यास बजारहरूको पूर्ण नियन्त्रण लिनेछौं, जस्तै हामीले भेनेजुएलासँग गरेका छौं, जुन भेनेजुएला र संयुक्त राज्य अमेरिका दुवैको लागि उत्कृष्ट रूपमा काम गरिरहेको छ।'
खार्ग द्वीप इरानका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । इरानबाट निर्यात हुने अधिकांश कच्चा तेल यही द्वीपस्थित टर्मिनलमार्फत विश्व बजारमा पुग्ने गर्छ । यसअघि पनि ट्रम्पले खार्ग द्वीपलाई निशाना बनाउने चेतावनी दिएका थिए । मार्च २०२६ मा उनले अमेरिकी सेनाले त्यहाँका सैन्य संरचनामाथि ठूलो आक्रमण गरेको दाबी गरेका थिए ।
ट्रम्पको पछिल्लो अभिव्यक्ति अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला आएको हो । पछिल्ला दिनहरूमा दुवै देशबीच सैन्य कारबाही भइरहेका छन् भने सम्भावित सम्झौताबारे कूटनीतिक संवाद पनि जारी रहेको बताइएको छ ।
यदि ट्रम्पले संकेत गरेअनुसार नयाँ आक्रमण भयो भने त्यसले मध्यपूर्वको सुरक्षा अवस्था मात्र होइन, विश्वव्यापी तेल बजार र ऊर्जा आपूर्तिमा समेत ठूलो प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।









