• २०८३ जेठ २८ बिहीबार

फिफा विश्वकप फुटबल आजदेखि, पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

फिफा विश्वकप फुटबल आजदेखि, पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । यस बर्षको फिफा विश्वकप फुटबल आजरातीदेखि शुरु हुदैछ । यस विश्वकपमा अहिलेसम्मकै धेरै ४८ देश सहभागी हुदैछन् । 

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको यो संस्करण अहिलेसम्मकै ठूलो मानिएको छ । यसपटक ४८ टोली सहभागी हुँदैछन्, जसले गर्दा पहिलो पटक धेरै नयाँ र चर्चित खेलाडीहरू विश्व मञ्चमा देखिन लागेका छन् ।

बोस्निया हर्ज गोभिना, डिआर कंगो, स्विडेन, टर्की, चेक रिपब्लिक  विश्वकपमा छनौट भएका छन् । त्यस्तै इटालीसहित जमैका, डेनमार्क र पोल्याण्ड जस्ता देश विश्वकपबाट बाहिरिएका छन् । आजराती देखि शुरु भएर विश्वकपको फाइनल खेल जुलाई १९ मा हुनेछ ।

आज राति नेपाली समय अनुसार १२: ४५ बजे विश्वकपको पहिलो खेलमा एक आयोजक रहेको मेक्सिको र दक्षिण अफ्रिका खेल्ने तालिका छ । यो खेल मेक्सिको सिटीको मेक्सिको सिटी स्टेडियममा हुदैछ ।

यस विश्वकपमा समुह ए मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन् भने समुह बी मा क्यानडा, कतार, स्वीजरल्याण्ड र बोसिनिया हर्जगोभिना रहेका छन् । त्यस्तै समुह सी मा ब्राजिल, मोरक्को, हैटी र स्कटल्याण्ड रहेका छन् भने समुह डी मा अमेरिका, पराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन् ।

त्यसैगरी समुह  समुह इ मा जर्मनी, कुराकाओ, आभारी कोष्ट र इक्वेडर रहेका छन् भने समुह एफमा नेदरल्याण्डस, जापान, ट्युनिसिया र स्विडेन रहेका छन् । त्यस्तै समुह जी मा बेल्जियम, इजिप्ट, इरान र न्यूजील्याण्ड रहेका छन् भने समुह एच मा स्पेन, केप भेर्डे, साउदी अरेबिया र उरुग्वे रहेका छन् ।त्यसैगरी समुह आई फ्रान्स, सेनेगल, नर्वे र इराक रहेका छन् भने समुह जे मा अर्जेन्टिन, अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन् ।

त्यस्तै समुह के मा पोर्चुगल, उज्बेकिस्तान, कोलोम्बिया र डिआर कंगो रहेका छन्  भने समुह एलमा इङल्याण्ड, क्रोसिया, घाना र पानामा रहेका छन् ।

उद्घाटन समारोह:

फिफा विश्वकप फुटबल २०२६ को पहिलो भव्य ओपनिङ सेरेमनी म्याक्सिको सिटीमा आज राति हुदैछ । यो ऐतिहासिक उद्घाटन समारोह म्याक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनभन्दा करिब ९० मिनेट अगाडि सुरु हुने तालिका रहेको छ । 

नेपाली समय अनुसार आज राती ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । फिफाले सार्वजनिक गरे अनुसार म्याक्सिको सिटी स्टेडियममा आयोजना हुने यो उद्घाटन समारोह करिब १६ मिनेट चल्नेछ र त्यसलगत्तै विश्वकपको पहिलो खेल सुरु हुनेछ । 

यसपटकको उद्घाटन समारोहको सबैभन्दा ठूलो आकर्षण विश्वप्रसिद्ध पप स्टार शकिरा हुनेछिन् भने उनीसँगै संसारभरका स्थापित कलाकारहरू एउटै मञ्चमा देखिनेछन् । शकिराबाहेक बर्ना बोइ, जे बाल्भिन, डेनी ओसन, बेलिन्डा, लिला डाउन्स, लस एन्जलस अजुलेस र माना जस्ता चर्चित अन्तर्राष्ट्रिय सङ्गीतकर्मीहरूले फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमका गीतहरूमा प्रत्यक्ष लाइभ प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाउनेछन् । समारोहको सबैभन्दा भावनात्मक क्षणका रूपमा म्याक्सिकोका प्रसिद्ध गायक एलेजान्ड्रो फर्नान्डेजले म्याक्सिकोको राष्ट्रिय गान र प्रख्यात गायिका तायलाले दक्षिण अफ्रिकाको राष्ट्रिय गान प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

यस वैश्विक उत्सवमा हलिउड अभिनेत्री तथा फिफा विश्वकप २०२६ की एम्बेसेडर सलमा हायेक पनि विशेष अतिथिको रूपमा सहभागी हुँदैछिन् । उनले समारोहमा विश्वभरका फुटबल प्रशंसकहरूलाई स्वागत गर्दै फुटबलको माध्यमबाट विश्वमा एकता र भाइचाराको सन्देश फैलाउनेछिन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई पूरा विश्वले सँगै मिलेर मनाउने एक अद्भुत अवसरको रूपमा व्याख्या गरेका छन् । उनले म्याक्सिको सिटीबाट सुरु भएर टोरन्टो र लस एन्जलससम्म पुग्ने यी समारोहहरूले सङ्गीत, संस्कृति र फुटबललाई एकै ठाउँमा जोड्दै एउटा शानदार वैश्विक उत्सवको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।

समग्रमा फिफा विश्वकप २०२६ खेलाडी र टोलीहरूको प्रतिस्पर्धा मात्र नभई आयोजक राष्ट्रहरूको संस्कृति, सङ्गीत र विविधताको एउटा ठूलो महाकुम्भ बन्ने देखिएको छ । शकिरा र जे बाल्भिन जस्ता दिग्गज सेलिब्रेटीहरूको उपस्थिति, सलमा हायेकको स्वागत सन्देश र म्याक्सिको सिटीको ऐतिहासिक मञ्चका कारण यस पटकको ओपनिङ सेरेमनी विश्वकप इतिहासकै सबैभन्दा बढी चर्चामा रहने र भव्य हुने निश्चित छ, जसले विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवको सुन्दर सुरुवात गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै