• २०८३ जेठ २६ मंगलबार

चुनाव हारेपछि तृणमूलमा ममताविरुद्ध विद्रोह

चुनाव हारेपछि तृणमूलमा ममताविरुद्ध विद्रोह

काठमाडौँ । भारतमा ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेसमा आन्तरिक विवाद चुलिदैजादा विभाजनतर्फ भएको छ । पश्चिम बंगलामा हालै सम्पन्न निर्वाचनबाट सत्ता बाहिर गएपछि पार्टी भित्रको असन्तुष्टि छताछुल्ल भएको हो र सांसदहरुले ममताविरुद्ध विद्रोह शुरु गरेका छन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार लोकसभामा रहेका तृणमूल कांग्रेसका २८ सांसदमध्ये २० जनाले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) सरकारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

पूर्व तृणमूल नेतृ तथा सांसद काकोली घोस दस्तीदारले सोमबार २० सांसदले एनडिएलाई समर्थन गर्ने निर्णय गरेको दाबी गर्दै यसबारे लोकसभा सभामुख ओम विड्लालाई पत्र पठाइसकिएको जानकारी दिएकी छन् ।

यस घटनाक्रमले तृणमूल कांग्रेसमा देखिएको विभाजनलाई थप स्पष्ट बनाएको छ । हाल लोकसभामा पार्टीका २८ र राज्यसभामा १३ सांसद छन् । यसअघि जुन ३ मा पश्चिम बंगाल विधानसभाका ८० मध्ये ५८ विधायकले अलग समूह गठन गर्दै ऋतब्रत बेनर्जीलाई आफ्नो नेता चयन गरेका थिए ।

यता तृणमूलका वरिष्ठ नेता सुखेन्दु सेखर रायले राज्यसभा सदस्य पदबाट राजीनामा दिएर पार्टीसमेत परित्याग गरेका छन् । उनले आफ्नो राजीनामा पत्रमा ममता बनर्जीको १५ वर्षे शासनशैलीलाई पार्टी कमजोर हुनुको मुख्य कारण बताएका छन् । राज्यसभा अध्यक्षले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।

विद्रोही नेता ऋतब्रत बनर्जीले पनि सुखेन्दुको भनाइसँग सहमति जनाउँदै पार्टी नेतृत्वप्रति असन्तोष व्यापक रहेको बताएका छन् । उनले संसद् गम्भीर बहस र नीति निर्माणको थलो भएकाले त्यसलाई हल्का रूपमा लिन नहुने टिप्पणी गरेका छन् ।

उता तृणमूल कांग्रेसले ऋतब्रत बनर्जीलाई विधानसभामा विपक्षी दलको नेता मान्यता दिने सभामुखको निर्णयविरुद्ध कोलकोता उच्च अदालतमा कानुनी चुनौती दिएको छ । अदालतले हालसम्म सुनुवाइको मिति तय गरेको छैन ।

करिब २८ वर्षको इतिहासमा तृणमूल कांग्रेसमा पहिलो पटक यति ठूलो स्तरको औपचारिक विभाजन देखिएको छ । विधायक र सांसदहरूको ठूलो समूह अलग हुन थालेपछि ममता बनर्जी नेतृत्वको पार्टी गम्भीर राजनीतिक संकटमा परेको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै