• २०८३ जेठ २५ सोमबार

टेलिकममा खरिद प्रक्रियामा अर्बौँ अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दर्ता

टेलिकममा खरिद प्रक्रियामा अर्बौँ अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दर्ता

काठमाडौँ । नेपाल टेलिकममा अर्बौँ रुपैयाँ बराबरका खरिद प्रक्रियामा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ ।

नेपाल टेलिकमकै जेनजी कर्मचारी समुहले दिएको उजुरीमा टेलिकमभित्र उच्च तहका कर्मचारीको मिलेमतोमा कमिसन लेनदेन र निश्चित कम्पनीलाई लाभ पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् । उजुरीमा नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र कर्मचारी सञ्जीव देवमाथि स्पेसिफिकेसन तयार गर्ने क्रममा प्रतिस्पर्धा सीमित हुने गरी नियम बनाइएको, केही निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने अवस्था सिर्जना गरिएको र खरिद प्रक्रियामा प्रभाव पारिएको आरोप लगाइएको छ ।

त्यसैगरी, दीर्घकालीन असर पर्ने ब्यान्डविथ, सिग्नलिङ, बिलिङ, टावर, स्विच र क्लाउड सेवा सम्बन्धी ठूला परियोजनामा भेन्डर लक सिर्जना गरी कमिसन लिने योजना बनेको दाबी पनि उजुरीमा गरिएको छ । उजुरीकर्ताहरूका अनुसार, सञ्जीव देव खरिद शाखामा आएपछि विभिन्न व्यवसायी तथा बिचौलियासँग नियमित सम्पर्कमा रहने, होटल तथा रेस्टुरेन्टमा भेटघाट गर्ने र कमिसन सम्बन्धी छलफल गर्ने गरेको आरोप छ ।

यस्तै, रीना डंगोलको नियुक्ति प्रक्रियामै अनियमितता भएको र वरिष्ठता मिचेर राजनीतिक पहुँचका आधारमा जिम्मेवारी पाएको दाबीसमेत उजुरीमा गरिएको छ ।

उजुरीमा दुवैजनाबीच मिलेमतो रहेको, फाइल स्वीकृतिमा एकपक्षीय निर्णय गरिएको, वरिष्ठ अधिकारीलाई दबाब दिइएको र कर्मचारीहरूलाई धम्कीसमेत दिने गरिएको आरोप उल्लेख छ । यसले संस्थाभित्र त्रासपूर्ण वातावरण बनेको उजुरीकर्ताको भनाइ छ ।

उजुरीकर्ताले अख्तियारसँग दुवैजनाको सम्पत्ति छानबिन गर्न, विगतका सबै खरिद प्रक्रिया अनुसन्धान गर्न तथा हाल चलिरहेका टेन्डर प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै