काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भएको फाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ३-१ ले गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा लगातार पाँच पटक उपाधि जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको थिएन । भारतले ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
भारतको जितमा पियारी छाछाले, सानफिदा नोङरुम र लिन्डा कोमले एक एक गोल गरेका थिए भने बंगलादेशका लागि रितु पूर्ना चक्माले एक गोल फर्काएकी थिइन् । भारतसँग फाइनलमा पराजित भएको बंगलादेशले सन् २०२२ र सन् २०२४ मा लगातार दुईपटक उपाधि जितेको थियो ।
नेपाल भने सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।









