काठमाडौँ । अफगानिस्तानविरुद्धको आगामी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअघि भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका अनुभवी ब्याट्सम्यान विराट कोहली ह्यामस्ट्रिङ चोटका कारण सम्पूर्ण शृंखलाबाट बाहिरिएका छन् ।
भारत र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय शृंखला जुन १३ देखि धर्मशालामा सुरु हुँदैछ । भारतीय क्रिकेट नियन्त्रण बोर्डका एक अधिकारीलाई उद्धृत गर्दै पीटीआईले कोहली चोटका कारण शृंखलामा उपलब्ध नहुने जनाएको छ ।
३७ वर्षको उमेरमा पनि विश्व क्रिकेटका सबैभन्दा फिट खेलाडीमध्ये गनिने कोहलीले हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगिताभर लगातार रन बनाएका उनले फाइनलमा पनि महत्त्वपूर्ण योगदान दिएका थिए ।
रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई लगातार दोस्रो पटक उपाधि दिलाउन उनको भूमिका निर्णायक रहेको थियो । गुजरात टाइटन्सविरुद्धको फाइनलमा उनले विजयी रन समेत प्रहार गरेका थिए । सीमित ओभरको क्रिकेटमा अहिले छनोट गरिएका प्रतियोगिता मात्र खेल्ने कोहली भारतीय टोलीका सबैभन्दा चर्चित खेलाडीमध्ये एक मानिन्छन् । उनको अनुपस्थितिले भारतीय ब्याटिङ कमजोर बन्नुका साथै दर्शकको आकर्षणमा पनि असर पर्न सक्ने अनुमान गरिएको छ ।
यता पूर्वकप्तान रोहित शर्माको फिटनेस अवस्था पनि पूर्ण रूपमा स्पष्ट भइसकेको छैन । इन्डियन प्रिमियर लिगका क्रममा उनी पनि ह्यामस्ट्रिङ समस्याबाट प्रभावित भएका थिए । अफगानिस्तानविरुद्धको टोलीमा समावेश भए पनि उनको खेल्ने सम्भावना फिटनेस परीक्षणको नतिजामा निर्भर रहने बताइएको छ ।
त्यस्तै, अलराउन्डर हार्दिक पाण्ड्याको अवस्थाबारे पनि टोली व्यवस्थापनले निरन्तर निगरानी गरिरहेको छ । कोहलीको अनुपस्थितिमा भारतीय ब्याटिङ क्रममाथि थप दबाब पर्ने देखिएको छ । युवा खेलाडी तथा मध्यक्रमका ब्याट्सम्यानले बढी जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आएको छ ।
अफगानिस्तानविरुद्धको शृंखला भारतका लागि आगामी ठूला प्रतियोगिताको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । यस्तो अवस्थामा कोहलीको चोट भारतीय टोलीका लागि चिन्ताको विषय बनेको छ ।









