बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाँच मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
जस अनुसार पाँच जना नयाँ मन्त्रीमा एमालेबाट चार र जसपा नेपालबाट एक जना मन्त्री नियुक्त भएका छन् । एमालेबाट तुलसीप्रसाद चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री पूर्वाधार विकास मन्त्री तथा डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनाइएको छ । त्यस्तै जसपाका भण्डारीलाल अहिर आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ जेठ २५ मा हुने बताइएको छ । यसअघि बुधबार दिउँसो एमालेका चारजना मन्त्रीले राजीनामा दिएका थिए ।
सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली काँग्रेसले प्रदेश सरकारको नेतृत्व नै आफुले पाउनुपर्ने बताइरहेका बेला मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । काँग्रेसले एमालेसँगको सहमति अनुसार गत फागुनमै आफुले सरकारको नेतृत्व पाउनुपर्ने दाबि गरिरहेको छ ।









