काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि शुक्रबारसम्म भारत भ्रमणमा जाने भएका छन् ।
भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेकार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनको अयोध्याको निजी भ्रमण पनि तय गरिएको छ ।
सभापति लामिछानेसँगै पार्टीको आधिकारिक प्रतिनिधिमण्डलमा सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटघाट तथा कार्यक्रमहरूको व्यवस्थापन र समन्वयका लागि आवश्यक सहकार्य गरिरहेको जनाइएको छ ।









