काठमाडौँ । इजरायलले लेबनानको ब्यूफोर्ट किल्लामाथि कब्जा गरेको छ । इजरायली सेनाले ब्यूफोर्ट किल्लामाथि नियन्त्रण स्थापित गर्नु ठूलो रणनीतिक सफलता भएको बताएको छ ।
इजरायली सेनाले लितानी नदी पार गर्दै आफ्नो सैन्य अभियानको दायरा विस्तार गरेको थियो । सोही अभियानअन्तर्गत ब्यूफोर्ट किल्लामा नियन्त्रण कायम गर्न सफल भएको दाबी गरिएको छ । इजरायलले हिजबुल्लाहलाई कमजोर बनाउने तथा उत्तरी सीमाको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ सैन्य कारबाहीलाई निरन्तरता दिने बताएको छ ।
ब्यूफोर्ट किल्ला दक्षिणी लेबनानमा अवस्थित एक ऐतिहासिक पहाडी दुर्ग हो । करिब ७०० मिटर अग्लो पहाडको टुप्पोमा रहेको यस किल्लाबाट वरपरका विशाल क्षेत्रको निगरानी गर्न सकिन्छ। यही रणनीतिक महत्वका कारण शताब्दीयौंदेखि यो किल्ला विभिन्न युद्ध र संघर्षको केन्द्र बन्दै आएको छ ।
इतिहासअनुसार १२औँ शताब्दीमा क्रुसेडर सैनिकहरूले यस किल्लाको निर्माण गरेका थिए। निर्माणका बेला यसको नाम ‘बेल फोर्ट’ अर्थात् ‘सुन्दर किल्ला’ राखिएको थियो । पछि यही नाम परिवर्तन हुँदै ब्यूफोर्ट किल्लाका रूपमा परिचित भयो ।
सन् ११९० मा मुस्लिम शासक सालादीनले उक्त किल्लामाथि नियन्त्रण स्थापित गरेका थिए। त्यसयता पनि विभिन्न शक्ति र शासकबीच किल्लाको स्वामित्वका लागि संघर्ष हुँदै आएको इतिहास छ ।
आधुनिक समयमा पनि ब्यूफोर्ट किल्ला द्वन्द्वको महत्वपूर्ण केन्द्र बनेको छ। सन् १९८२ मा इजरायलले लेबनानमाथि गरेको आक्रमणका क्रममा यहाँ भीषण युद्ध भएको थियो। त्यसपछि लामो समयसम्म इजरायली सेना तथा उसका सहयोगी बलहरूको नियन्त्रणमा यो क्षेत्र रहेको थियो ।
सन् २००० मा इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गरेपछि ब्यूफोर्ट किल्ला पुनः लेबनानको नियन्त्रणमा आएको थियो । हाल पनि यो किल्ला दक्षिणी लेबनानको रणनीतिक तथा ऐतिहासिक महत्व बोकेको स्थलका रूपमा चिनिन्छ ।









