• २०८३ जेठ १६ शनिबार

पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाउछौं- ओली

पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाउछौं- ओली

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाउने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीको एउटा हिस्सा निराश र पलायन हुन लागेकाले सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको उल्लेख गर्दै केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाउने बताएका हुन् । 

ओलीले  वर्तमान अवस्थामा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शन गर्नु आवश्यक रहेको बताउदै भनेका छन्- ‘निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक छ ।पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने छ। पार्टी सदस्यता नवीकरणको प्रक्रियाबाट नै त्यो काम अघि बढाउने छ।’ 

जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव रहेको दाबी गर्दै उनले पार्टी काममा सक्रियताका साथ जुट्न कार्यकर्तालाई जुट्न अनुरोध गरेका छन् । ओलीले भनेका छन्- 'जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव छ। चुनौती जतिसुकै जटिल भए पनि त्यसको पनि सामना गर्न सकिन्छ। इतिहासका विभिन्न कालखण्डमा गम्भीर भन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टी काममा सक्रियताका साथ जुट्न म सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु।’

निर्वाचनमा के कस्तो कमी कमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने बताउदै ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्- 'निश्चय नै निर्वाचनको अस्वभाविक परिणामबाट हामी सबै चिन्तित छौं। पार्टीका सामू उत्पन्न चुनौती र संकटलाई सामना गरेर नै हामीले निर्वाचनका समयमा भन्ने गरेको देश पहिला भन्ने नाराको सार्थकतालाई पुष्टि गर्न सफल हुनेछौं ।’

ओलीले भदौ २३ र २४ को घटना पछि उत्पन्न असहज परिस्थिति, पार्टीभित्र उत्पन्न अन्तरविरोध समेतका कारणले समयअगावै एघारौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको बताउदै प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले निर्वाचनमा जानुपरेको बताएका छन् । 

उनले भनेका छन्- 'निर्वाचनको परिणाम हाम्रो पार्टीका पक्षमा रहेन नै। नेपालको प्रमुख लोकतान्त्रिक पार्टीहरुको पक्षमा समेत रहेन। यहाँ कहाँ के कस्तो कमि कमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने कुरा समयक्रममा उजागर समेत हुँदै जाला। तर पनि यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन। यसको परिणाम पनि स्वभाविक रहेन। यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ।’

ओलीले लोकप्रियतावादको आवरणमा मुलुकलाई अराजकता, स्वेच्छाचारिता र अधिनायकवादतर्फ लैजाने कोशिस भइरहेको बताए। भदौ २३ र २४ को विध्वंसात्मक घटनापछि मुलुक प्रतिगमनको बाटोमा अग्रसर भएको हाम्रो निष्कर्ष सही रहेछ भन्ने कुरा नवगठित सरकारका काम र क्रियाकलापले पुष्टि गर्दै लगिरहेको उनको भनाई छ। ओलीले कार्यकर्तालाई वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेकोसमेत जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै