• २०८३ जेठ १५ शुक्रबार

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सात विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ ।

प्रतिष्ठानले अर्थ, वातावरण, युवा, श्रमिक, बालअधिकार, सार्वजनिक सेवा तथा गैरसरकारी संस्थासम्बन्धी विषय समेटेर उपसमिति बनाएको हो ।

अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्राध्यापक डा. गोविन्दराज पोख्रेल चयन भएका छन् । उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा काम गर्ने जनाइएको छ ।

जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएकी छन् । यस उपसमितिले हिमालमा परेको असर न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्मका विषयमा काम गर्नेछ ।

त्यस्तै नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम चयन भएका छन् । यस उपसमितिले युवापुस्तादेखि नागरिक समाजका प्रबुद्ध वर्गसम्म संवाद र समन्वयमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक नीति तथा न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् । त्यस्तै बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी चयन भएका छन् । उक्त उपसमितिले बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्मका विषयमा काम गर्ने जनाइएको छ ।

त्यसैगरी सार्वजनिक सेवा प्रवाह, नीति तथा थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन् । त्यस्तै गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएकी छन् ।

प्रतिष्ठानका अनुसार सबै उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा पेश गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै