• २०८३ जेठ १४ बिहीबार

उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच शिष्टाचार भेट

उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

बुधबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, नेपाल–चीन आर्थिक सहयोग तथा भविष्यको सहकार्यका दृष्टिकोणहरुबारेमा विचार–विमर्श भएको थियो । 

उपराष्ट्रपति यादवले राजदूत माओमिङलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले चीन सरकारद्वारा नेपालमा हालै सम्पन्न संसदीय निर्वाचनमा प्रदान गरिएको सहयोगप्रति धन्यवाद दिँदै नेपाल–चीन सम्बन्ध अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

उपराष्ट्रपति यादवले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ फ्रेमवर्क अन्तर्गत सहमति भएका परियोजनाहरूका साथै अन्य सहयोग परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिन नेपाल इच्छुक रहेको र चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल व्यवसायमैत्री र लगानीमत्रै वातावरण निर्माण गर्न सक्रिय रहेको बताए । उनले चीनको १५औँ पञ्चवर्षीय योजनाले दुई देशबीच पूर्वाधार, ‘कनेक्टिभिटी’, ऊर्जा, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यका अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

चीनका राजदूत चाङ माओमिङले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनप्रति खुशी व्यक्त गर्दै यसबाट नेपालमा राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । उनले चीनको नीतिमा नेपालको राम्रो स्थान रहेको उल्लेख गर्दै चीनले नेपाललाई विद्युत, सडक,पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताएका थिए ।

उनले भने- 'चीनले आफ्ना लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्दछ । चीनले काठमाडौंस्थित सिभिल हस्पिटल र चितवनस्थित क्यान्सर हस्पिटलप्रति आफ्नो प्रतिबद्धता कायम राखेको छ । मधेशमा पनि शिक्षा र स्वास्थ्य परियोजनाहरु संचालन गर्न चीन इच्छुक छ ।’  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै