काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्स क्वालिफायर्स अन्तर्गत इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।
यस प्रतियोगितामा नेपालको पहिलो खेलमा चीनलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने इन्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो । नेपालले आजको खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।









