काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै चुनावी परिणाम आफ्नो पार्टीका लागि अप्रत्याशित र अनपेक्षित रहेको निष्कर्ष निकालेको छ ।
पार्टीको केन्द्रीय समन्वय समितिको बैठकपछि मंगलबार जारी गरेको विज्ञप्तिमा चुनावी प्रक्रियामा शक्ति केन्द्रहरूको भूमिका र परिणामबारे विभिन्न कोणबाट प्रश्न तथा शंका उठेको ठहर गरेको छ ।
जसपा नेपालले नेपालमा भएका ऐतिहासिक मधेश जनविद्रोह, जनआन्दोलन र संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र, मौलिक हक, नागरिक स्वतन्त्रता तथा समावेशीताजस्ता उपलब्धिको रक्षा गर्ने विज्ञप्ति मार्फत् प्रतिबद्धता दोहो¥याएको छ । बैठकको समीक्षा र निर्णयहरू सार्वजनिक गर्न केन्द्रीय समन्वय समितिका सदस्य डा. सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन परिणामबारे कालान्तरमा थप स्पष्टता आउने उल्लेख गरिएको छ ।
पार्टीले निर्वाचनमा धक्का ब्यहोरे पनि विगतका ऐतिहासिक मधेश जनविद्रोह, जनआन्दोलन र सङ्घर्षहरूबाट प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मौलिक हक र समावेशीताजस्ता महत्वपूर्ण उपलब्धिहरूको रक्षाका लागि अविचलित रूपमा अगाडि बढ्ने सङ्कल्प गरेको छ ।उत्पीडित, उपेक्षित, शोषित र विभेदमा पारिएका मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, पिछडावर्ग, थारु, मुस्लिम एवं अल्पसङ्ख्यक समुदायको पहिचान, अधिकार र मुक्तिका लागि पार्टी दृढताका साथ लागिरहने निर्णय बैठकले गरेको छ ।
बैठकले मानव अधिकार, लोकतान्त्रिक स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण, सुशासन, र कानुनी सेवामा पहुँच जस्ता मूलभूत मुद्दाहरूलाई आगामी दिनमा थप सशक्त रूपमा उठाउने नीति लिएको छ । पार्टीले निर्वाचन प्रणाली, निर्वाचन क्षेत्र निर्धारण, न्याय प्रणालीको पुनर्संरचना तथा संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनका पक्षमा पनि आफ्नो आवाज सशक्त बनाउने संकेत दिएको छ ।









