काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरू र आसपासका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना देखिएको हो । त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
कोशी प्रदेशका झापा र मोरङ तथा आसपासका जिल्लाहरूमा हावाहुरीको प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ । त्यस्तै मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । बागमती प्रदेश अन्तर्गत मकवानपुर र चितवन सहित आसपासका जिल्लामा समेत हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।
त्यस्तै गण्डकी प्रदेशको नवलपुर र तनहुँ तथा आसपासका क्षेत्रहरूमा पनि असर पर्न सक्ने बताइएको छ । यस्तै लुम्बिनी प्रदेशको रुपन्देही र आसपासका जिल्लामा समेत हावाहुरीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै अनावश्यक रूपमा बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।









