काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने अडान दोहोराएका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा पनि महासचिव शंकर पोखरेलसहितले यथास्थितिमा पार्टी अगाडी बढ्न नसक्ने बताएपछि ओलीले पद नछोड्ने अडान दोहोराएका हुन् ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले सिधै राजीनामा नमागेपनि यथास्थितिमा पार्टी अगाडी बढ्न नसक्ने धारणा राखेका थिए । त्यस्तै आज बोलेका उपमहासचिव योगेश भट्टराईसहितले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा अहिलेसम्म उपाध्याक्ष, महासचिव, उपमहासचिव र चार सचिवले आफ्नो धारणा राख्दा धेरैले ओलीलाई पद छोड्न दबाब दिएका छन् ।
बहुसंख्यकले आफुलाई राजीनामा दिन दबाब दिएपछि ओलीले आफुलाई नसम्झाउन आग्रह गर्दै राजीनामा नगर्ने र यसको छिनो फानो केन्द्रीय कमिटीको बैठक बाट गर्ने संकेत गरेका थिए । ओली आफु केन्द्रीय कमिटीमा बहुमत रहेको आकलन गर्दै पद छोड्ने नछोड्ने निर्णय केन्द्रीय कमिटीबाट गराउने खोजेको आजको बैठकमा सहभागी एक पदाधिकारीले बताए । बैठकमा सचिव महेश बस्नेतले ओलीको बचाउ गर्दै संकटको समयमा नेतृत्वको बचाउ गर्नुपर्ने बताएका थिए ।
उपमहासचिव लेखराज भट्टका अनुसार आज महासचिव, उपमहासचिव र पाँच सचिवले आफ्नो धारणा राखेको र आइतबार चार जना सचिवले आफ्नो धारणा राख्ने बताएका हुन् । बैठकमा बोल्न बाँकी सचिवहरुले बोलेपछि यसअघि प्रस्तुत गरिएका एजेण्डामा छलफल हुने बताए । भट्टले शुक्रबारको बैठकमा नेताहरुले बोलेका विषय अतिरन्जित किसिमले मिडियामा आएको समेत बताए । उनले आजको बैठकमा धारणा राख्नेहरुले कमि कमजोरी सच्याएर ओलीकै नेतृत्वमा पार्टीलाई एकताबद्ध भएर अगाडी जानुपर्छ भन्ने बताएको उल्लेख गरे ।
जेठ ४ गतेदेखि शुरु भएको बैठक आइतबार बिहान ११: ३० बजे अध्यक्षकै निवासमा पुनः बस्ने तय भएको भट्टले बताए ।









