काठमाडौँ । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज प्रिमियर लिग सिजनकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रिमियर लिगले पोर्चुगाली मिडफिल्डर फर्नान्डेजले एर्लिङ हालान्ड, एन्टोइन सेमेन्यो, गाब्रियल, डेक्लान राइस, डेभिड राया, मोर्गन गिब्स ह्वाइट र इगोर थियागोलाई पछि पार्दै अवार्ड जितेको घोषणा गरेको छ ।
फर्नान्डेज म्यानचेस्टर युनाइटेडको सिजनको दोस्रो चरणको उत्कृष्ट प्रदर्शनका मुख्य खेलाडी बने । उनले यस सिजन ८ गोल गर्नुका साथै २० गोल असिस्ट गरेका छन् ।
उनको २० असिस्टसँगै उनले एकै प्रिमियर लिग सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान थिएरी हेनरी र केभिन डी ब्रुनेको नाममा रहेको थियो ।
सन् २०१०-११ मा नेमान्जा भिडिचपछि प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्ने पहिलो म्यानचेस्टर युनाइटेड खेलाडी पनि फर्नान्डेज बनेका छन् ।
अब सिजनको अन्तिम खेलमा ब्राइटनविरुद्ध मैदान उत्रँदा उनी सर्वाधिक असिस्टको नयाँ कीर्तिमान बनाउने अवसरमा रहनेछन् ।
म्यानचेस्टर युनाइटेडले यस सिजनमा तेस्रो स्थानमा रहदै सिजन समाप्त गर्दैछ । यस सिजनको प्रिमियर लिग उपाधि भने आर्सनलले जितेको छ ।









