काठमाडौँ । साउदी प्रो लिगको यस सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जोआओ फेलिक्सले जितेका छन् । उनले आफ्नै क्लब अल नासरका स्टार तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् ।
अवार्ड घोषणा हुनुभन्दा एक दिनअघि मात्रै फेलिक्स र रोनाल्डो दुवैले अल नासरलाई साउदी प्रो लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
रोनाल्डोले डामाकविरुद्ध ४–१ को जितमा दुई गोल गर्दै टोलीलाई उपाधि सुनिश्चित गरेका थिए । यस सिजनमा ४१ वर्षीय रोनाल्डोले कुल २८ गोल गरेका छन् ।
यता जोआओ फेलिक्सले यस सिजनमा २० गोल गर्नुका साथै १३ असिस्ट पनि गरेका थिए, जुन लिगकै सर्वाधिक असिस्ट हो । यही प्रदर्शनका कारण उनी सिजनकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा उनले कोलम्बियाका जुलियन क्विनोनेस र इंग्ल्यान्डका इभान टोनीलाई पछि पारेका थिए ।
चेल्सीबाट करिब ३० मिलियन युरोमा अल नासर आएका फेलिक्सको यो साउदी लिगको पहिलो सिजन हो । उनले दुई वर्षको सम्झौतामा क्लबमा आवद्ध भएका थिए । अवार्डपछि उनले आफूले आफ्नै स्थानमा खेल्न पाउँदा आत्मविश्वास बढेको र प्रशिक्षकको विश्वासले राम्रो प्रदर्शन गर्न सकेको बताएका छन् ।
उता अल नासरका प्रशिक्षक जोर्जे जेसुस पनि यस सिजनको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनले टोलीलाई उपाधिसम्म पुर्याएपछि पद छोड्ने घोषणा गरेका छन् । जेसुसले रोनाल्डोका लागि यो उपाधि विशेष रहेको बताएका छन्, किनकि साउदी अरेबियामा आएपछि उनले पहिलो पटक ठूलो उपाधि जितेका हुन् । उनले आफूले रोनाल्डोलाई च्याम्पियन बनाउन मद्दत गर्ने उद्देश्यले मात्रै यो जिम्मेवारी लिएको र अब आफ्नो यात्रा यहीँ समाप्त हुने बताएका छन् ।









