• २०८३ जेठ ९ शनिबार

अन्तर्राष्ट्रिय मानव संसाधन दिवस काठमाडौँमा भव्य रूपमा सम्पन्न

अन्तर्राष्ट्रिय मानव संसाधन दिवस काठमाडौँमा भव्य रूपमा सम्पन्न

काठमाडौँ । मानव संसाधन समाज नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा देशभरका विभिन्न संस्था तथा उद्योग क्षेत्रका २५० भन्दा बढी मानव संसाधन प्रोफेशनलहरूको सहभागिता रहेको थियो ।

बदलिँदो कार्यसंस्कृति, मानव–केन्द्रित नेतृत्व तथा संगठनात्मक रूपान्तरणमा मानव संसाधन क्षेत्रको बढ्दो भूमिकालाई सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा मानव संसाधन क्षेत्रका अग्रज, कर्पोरेट क्षेत्रका प्रतिनिधि, शिक्षाविद् तथा विभिन्न उद्योगका प्रोफेशनलहरूको सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानव संसाधन समाज नेपालका अध्यक्ष मोहन थापाले यस वर्षको अन्तर्राष्ट्रिय नारा 'परिवर्तनको नेतृत्व गर्न मानिसलाई सक्षम बनाऔँ' अत्यन्त सान्दर्भिक रहेको बताउनुभयो । उहाँले कृत्रिम बौद्धिकता, बदलिँदो कार्यशैली, महामारीपछिको कार्यसंस्कृति तथा आर्थिक अनिश्चितताजस्ता चुनौतीबीच मानव संसाधन पेशेवरहरूले परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका थिए ।

उनले मानव संसाधन क्षेत्र अब केवल परिवर्तनलाई सहयोग गर्ने भूमिकामा सीमित नरही परिवर्तनको नेतृत्व गर्ने चरणमा पुगेको बताए । साथै मानव संसाधन समाज नेपालको साझा दृष्टिकोण “एक मानव संसाधन–एक आवाज–एक समुदाय” लाई संगठन, उद्योग तथा समाजलाई मानव–केन्द्रित बनाउने सामूहिक प्रतिबद्धताको रूपमा व्याख्या गरेका थिए ।अध्यक्ष थापाले नेपालको मानव संसाधन समुदायमा बढ्दो एकता, नेतृत्व क्षमता तथा पेशागत योगदानको प्रशंसा गर्दै सदस्य, साझेदार, सहयोगी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन तथा समन्वय मानव संसाधन समाज नेपालका महासचिव दिनेश नाथले गरेका थिए । उनले सहभागीहरूबीच प्रभावकारी अन्तरक्रिया, अनुभव आदानप्रदान तथा पेशागत सम्बन्ध विस्तारमा कार्यक्रम सफल भएको बताए ।

कार्यक्रममा मानव संसाधन क्षेत्रका नयाँ प्रवृत्ति, अवसर र चुनौतीबारे छलफल, पेशागत सञ्जाल विस्तार तथा अनुभव आदानप्रदानका विभिन्न गतिविधि सम्पन्न भएका थिए ।

मानव संसाधन समाज नेपालले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत उत्कृष्ट मानव संसाधन अभ्यासको प्रवर्द्धन, पेशागत सहकार्यको विस्तार तथा नेपालमा मानव–केन्द्रित कार्यसंस्कृतिको विकासमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै