• २०८३ जेठ ७ बिहीबार

आइपिएलका लिग चरणका अन्तिम खेल आजदेखि, रोचक बन्यो प्लेअफको दौड

आइपिएलका लिग चरणका अन्तिम खेल आजदेखि, रोचक बन्यो प्लेअफको दौड

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को लिग चरण अन्तिम चरणमा पुगेसँगै प्लेअफको दौड थप रोमाञ्चक बनेको छ ।

अब लिग चरणका केवल ६ खेल बाँकी रहँदा तीन टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु, गुजरात र हैदराबादले प्लेअफ यात्रा तय गरेका हुन् । यता मुम्बई र लखनउ भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब बाँकी रहेको एक स्थानका लागि पाँच टोलीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

एक स्थानका लागि मुख्य रुपमा राजस्थान रोयल्स, पञ्जाव किंग्स, कोलकोता नाइट राइडर्स प्रतिष्पर्धामा रहेका छन् भने प्राविधिक रुपमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स पनि प्लेअफको दौडमा रहेका छन् ।

अब राजस्थानले मे २४ मा हुने बाहिरी मैदानको खेलमा मुम्बईलाई हराए १६ अंकसहित सिधै प्लेअफमा पुग्नेछ र अन्य टिमको सम्भावना सकिने छ । तर मुम्बईसँग राजस्थान पराजित भएमा भने अन्य टिमको प्लेअफको यात्रा खुला रहने छ । यदि राजस्थान अन्तिम खेलमा पराजित भयो भने उसले १४ अंकमै लिग चरण समाप्त गर्नेछ । त्यस अवस्थामा पञ्जाबले लखनउलाई हराए १५ अंकमा पुग्नेछ भने कोलकाताले बाँकी दुवै खेल जिते १५ अंक बनाउनेछ । राजस्थान १४ अंकमै प्लेअफ पुग्न भने अन्य टोलीका नतिजामा भर पर्नुपर्नेछ । त्यसका लागि पञ्जाबले लखनउसँग हार्नुपर्ने, कोलकाताले मुम्बईलाई हराए पनि दिल्लीसँग पराजित हुनुपर्ने तथा चेन्नईले गुजरातसँग हार्नुपर्ने अवस्था रहेको छ ।

नेट रनरेटमा भने राजस्थानलाई फाइदा रहेको बताइएको छ । चेन्नई र दिल्लीको रनरेट राजस्थानभन्दा कमजोर रहेको छ । पञ्जाबले मे २३ मा लखनउसँग खेल्नेछ । उक्त खेल जिते पञ्जाब १५ अंकमा पुग्नेछ । पञ्जाबलाई प्लेअफ पुग्न राजस्थानले अन्तिम खेल हार्नुपर्ने र कोलकाताले बाँकी दुई खेलमध्ये कम्तीमा एक खेल गुमाउनुपर्नेछ । यदि पञ्जाब र कोलकाता दुवैले सबै खेल जिते निर्णय नेट रनरेटबाट हुनेछ ।

कोलकाताले अब दिल्लीसँग खेल्न बाँकी छ । कोलकाताका लागि सबैभन्दा सहज अवस्था भनेको दिल्लीविरुद्ध जित हासिल गर्नु, पञ्जाब लखनउसँग हार्नु तथा राजस्थान अन्तिम खेलमा पराजित हुनु हो । चेन्नईको अवस्था भने कठिन बनेको छ । उसले गुजरातसँगको अन्तिम खेल जिते १४ अंकमा पुग्नेछ । तर प्लेअफ सम्भावना कायम राख्न राजस्थान र पञ्जाब दुवैले हार्नुपर्ने तथा कोलकाताले कम्तीमा एक खेल गुमाउनुपर्नेछ । साथै चेन्नईले ठूलो अन्तरको जित निकाल्नुपर्ने दबाब पनि रहनेछ । गुजरातसँग हार भए चेन्नई लगातार तेस्रो पटक लिग चरणबाटै बाहिरिनेछ ।

दिल्ली भने गणितीय सम्भावनामै सीमित बनेको छ । उसले कोलकाताविरुद्धको अन्तिम खेल जित्नुपर्नेछ । तर नेट रनरेटमा राजस्थानसँग ठूलो अन्तर रहेकाले दिल्लीको सम्भावना लगभग असम्भवजस्तै देखिएको छ ।

यता शीर्ष स्थानको प्रतिस्पर्धा पनि रोचक बनेको छ । गुजरातले मे २१ मा चेन्नईसँग खेल्नेछ भने हैदराबादले मे २२ मा बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ । यदि बेङ्गलुरु र गुजरात दुवैले अन्तिम खेल जिते पहिलो क्वालिफायरमा यी दुई टोली भिड्नेछन् । बेङ्गलुरु र चेन्नई विजयी भए बेङ्गलुरु २० अंकसहित शीर्ष स्थानमा रहनेछ । हैदराबाद र गुजरात दुवै विजयी भए १८ अंकमा तीन टोलीबीच शीर्ष दुईको प्रतिस्पर्धा हुनेछ । हैदराबाद र चेन्नई विजयी भए बेङ्गलुरु र हैदराबाद शीर्ष दुईमा रहने सम्भावना रहनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै