काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था घोषणा गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म २४६ वटा शंकास्पद संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भइसकेको छ । यद्यपि यसलाई अहिलेको अवस्थामा ‘विश्वव्यापी महामारी आपत्काल’को श्रेणीमा नराखिएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले संक्रमितको वास्तविक संख्या र रोग फैलिने अवस्थाबारे अझै धेरै अनिश्चितता रहेको चेतावनी दिएका छन् ।
यसपटक फैलिएको इबोला ‘बुन्डीबुग्यो’ नामक भाइरसका कारण भएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस भाइरसविरुद्ध हालसम्म प्रभावकारी औषधि वा खोप उपलब्ध छैन ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले संक्रमण कंगो बाहिर पनि फैलिन थालेको जनाएको छ। छिमेकी युगान्डा मा पनि दुई संक्रमित भेटिएको पुष्टि गरिएको छ । युगान्डाका अधिकारीहरूका अनुसार ५९ वर्षीय एक पुरुषको बिहीबार मृत्यु भएको थियो र उनको परीक्षण रिपोर्ट इबोला सङ्क्रमण पुष्टि भएको थियो ।
विशेषज्ञहरूले कंगोका छिमेकी देशहरू उच्च जोखिममा रहेको बताएका छन्। सीमावर्ती क्षेत्रमा मानिसहरूको आवतजावत, व्यापार तथा यात्रा धेरै हुने भएकाले संक्रमण थप फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ।









