काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सैन्य कारबाहीमा अमेरिकी सेनाले नाइजेरियामा इस्लामिक स्टेटको दोस्रो सबैभन्दा ठूलो विश्वव्यापी कमान्डर मानिने अबू-बिलाल अल मिनुकीलाई मार्न सफल भएको जानकारी दिएका छन् ।
उनी इस्लामिक स्टेटको विश्वव्यापी संरचनामा अत्यन्त उच्च तहका नेता मानिन्थे । ट्रम्पले यो जानकारी दिदै उक्त कारबाही निकै जटिल र राम्रो योजना बनाएर गरिएको मिसन भएको बताएका छन् । उनका अनुसार अमेरिकी सेना र नाइजेरियाली सुरक्षा बलले संयुक्त रूपमा अत्यन्त सटीकताका साथ यो अपरेसन सम्पन्न गरेका हुन् । ट्रम्पले अल-मिनुकीलाई विश्वकै सबैभन्दा सक्रिय आतङ्ककारीमध्ये एक भन्दै टिप्पणी गरेका छन् ।
ट्रम्पले अल मिनुकीलाई आफू अफ्रिकामा लुकेर सुरक्षित रहन सक्छु भन्ने भ्रम रहेको तर अमेरिकी निकायसँग उनको गतिविधिबारे निरन्तर सूचना आउने स्रोतहरू सक्रिय रहेको उनले दाबी गरे । ट्रम्पले यो सफलतापछि खुसी व्यक्त गर्दै अब उक्त आतङ्ककारीले अफ्रिकाका नागरिकलाई त्रसित बनाउन नसक्ने र अमेरिकाविरुद्ध आक्रमणको योजना पनि बनाउन नपाउने बताएका छन् । उनका अनुसार यस कारबाहीले इस्लामिक स्टेटको विश्वव्यापी सञ्जाल कमजोर बनाउनेछ। उनले सहयोगका लागि नाइजेरिया सरकारप्रति पनि आभार व्यक्त गरेका छन् ।
अबू बिलाल अल मिनुकीलाई अबू बक्र इब्र मुहम्मद इब्र अली अल मैनुकी भनेर पनि चिनिन्थ्यो । उनी मुख्य रूपमा अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय थिए । यो क्षेत्र अटलान्टिक महासागरदेखि लाल सागरसम्म करिब ५ हजार ९ सय किलोमिटर फैलिएको छ । यसमा सेनेगल, मोरिटानिया, माली, बुर्किना फासो, नाइजर, नाइजेरिया, चाड र सुडानजस्ता देशहरू पर्छन्। यसको प्रभाव गाम्बिया, गिनी, क्यामरुन र इरिट्रियासम्म पनि फैलिएको मानिन्छ ।
अल मिनुकी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका वरिष्ठ कमान्डर थिए । उनी इस्लामिक स्टेटको लेक चाड क्षेत्रीय एकाइका अपरेसनहरूको नेतृत्व गर्थे । साथै उनी आतङ्ककारी सञ्जाललाई आर्थिक सहयोग र निर्देशन पुर्याउने काममा पनि संलग्न थिए ।
उनका गतिविधि अत्यन्त खतरनाक मान्दै सन् २०२३ जुनमा अमेरिकी विदेश मन्त्रालयले उनलाई विशेष रूपमा चिन्हित विश्वव्यापी आतङ्ककारीको सूचीमा राखेको थियो । ट्रम्पले उक्त कारबाहीमा संलग्न सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै यसलाई विश्व सुरक्षाका लागि ठूलो राहत भएको बताएका छन् ।









