काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
यस खेलमा नेपालका लागि एकदिवसीय खेलमा इशान पाण्डेले डेभ्यु गरेका छन् । घरेलु पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका पाण्डेलाई राष्ट्रिय टिममा अवसर दिइएको छ भने कुशल भुर्तेल र सोमपाल कामीलाई पनि आज खेलाइएको छ ।
आजको टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, सोमपाल कामी रहेका छन् ।
नेपाल र अमेरिका एकदिवसीय क्रिकेटमा यसअघि ९ पटक खेलेका छन्, जसमा नेपालले ४ र अमेरिकाले ४ जित हासिल गरेका छन् भने एक खेल बराबरी भएको थियो ।
जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २५ खेल खेलेर ८ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै अमेरिका भने अहिलेसम्म २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यस सिरिज अन्तर्गत अब अर्को खेल मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।









