काठमाडौँ । अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच जारी युद्धविरामलाई थप ४५ दिनका लागि लम्ब्याइएको छ । अमेरिकी विदेश विभागका अनुसार दुई दिनसम्म चलेको वार्तापछि दुवै देश यसमा सहमत भएका हुन् ।
अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगोटले इजरायल र लेबनानबीच राजनीतिक तहको वार्ता आगामी जुन २ र ३ मा पुनः सुरु हुने जानकारी दिएका छन् । उनले मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिमण्डलबीच सुरक्षा सम्बन्धी विषयमा छुट्टै बैठकसमेत हुने बताएका छन् ।
पिगोटका अनुसार यी वार्ताको मुख्य उद्देश्य स्थायी शान्तितर्फ अघि बढ्नु रहेको बताएका छन् । साथै दुवै देशको सार्वभौमिकता र सीमाको सम्मान सुनिश्चित गर्ने तथा साझा सीमामा सुरक्षा व्यवस्था थप मजबुत बनाउने विषयमा पनि जोड दिइनेछ ।
इजरायल–लेबनान सीमामा पछिल्ला केही महिनादेखि तनाव कायम छ । गाजा युद्धपछि हिजबुल्लाह र इजरायलबीच लगातार आक्रमण र जवाफी कारबाही हुँदै आएका छन् ।
यसअघि पनि युद्धविरामकै विचमा इजरायलले लेबनानमाथि लगातार आक्रमण भने गरिरहेको छ ।









