काठमाडौँ । बलिवुड अभिनेत्री मौनी रोय र उनका पति सुरज नाम्बिआरले चार वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेका छन् ।
दुवैले संयुक्त वक्तव्य जारी गर्दै वैवाहिक सम्बन्ध अन्त्य गरेको बताएका हुन् । उनीहरूले व्यक्तिगत जीवनबारे फैलाइएका गलत हल्ला र अनावश्यक चर्चाप्रति असन्तुष्टि पनि जनाएका छन् ।
यसअघि सामाजिक सञ्जालमा दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेपछि सम्बन्धमा समस्या आएको चर्चा सुरु भएको थियो । मौनीको प्रोफाइलबाट सुरजसँगका केही तस्बिर हटाइएको तथा सुरजले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय बनाएपछि चर्चा झन् बढेको थियो ।
संयुक्त वक्तव्यमा मौनी र सुरजले सम्मान र समझदारीसहित अलग–अलग बाटो रोज्ने निर्णय गरेको उल्लेख गरेका छन् । साथै भविष्यमा पनि मित्रता कायम राख्ने प्रयास गर्ने बताएका छन् ।
दुवैले सन् २०२२ जनवरीमा गोवामा बंगाली र मलयाली परम्परा अनुसार विवाह गरेका थिए । उनीहरूको विवाहका तस्बिर त्यतिबेला सामाजिक सञ्जालमा निकै चर्चित बनेका थिए । बैंगलुरुका सुरज हाल दुबईमा व्यवसाय गर्छन् भने इन्भेस्टमेन्ट बैंकर हुन् ।
व्यावसायिक रूपमा मौनी राय अहिले आगामी चलचित्र ‘है जवानी तो इश्क होना है’को प्रदर्शन तयारीमा रहेकी छन् । उक्त चलचित्र आगामी जुनमा प्रदर्शन हुने तय गरिएको छ।









