काठमाडौँ । भारतका १५ वर्षीय क्रिकेटर वैभव सूर्यवंशीलाई एकदिवसीय त्रिदेशीय सिरिजका लागि भारत ए टोलीमा समावेश गरिएको छ । तिलक बर्माको कप्तानीमा घोषणा गरिएको भारतीय ए टिममा सुर्यबंशीलाई सामेल गरिएको हो ।
सूर्यवंशी यसअघि एशिया कप राइजिङ स्टार्स तथा १९ वर्षमुनिको विश्वकपमा भारतको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । यही वर्ष जनवरीमा भएको १९ वर्षमुनिको विश्वकप फाइनलमा उनले १७५ रनको शानदार इनिङ्स खेलेका थिए । उत्कृष्ट प्रदर्शनकै आधारमा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
वैभवले आगामी जुनमा श्रीलंकामा हुने एकदिवसीय त्रिदेशीय सिरिज खेल्नेछन् । प्रतियोगितामा भारत–ए, श्रीलंका–ए र अफगानिस्तान–ए टोली सहभागी रहनेछन् । सूर्यवंशीले जारी आइपिएलमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सूर्यवंशीको क्रिकेट यात्रा १२ वर्षको उमेरमै रणजी ट्रफीबाट सुरु भएको थियो । उनले जनवरी २०२४ मा बिहारका लागि रणजी ट्रफीमा पदार्पण गरेका थिए । त्यतिबेला उनी १२ वर्षका मात्र थिए । उनले मुम्बई र छत्तीसगढविरुद्ध दुई प्रथम श्रेणी खेल खेल्दै ३१ रन बनाएका थिए ।
यससँगै उनले सचिन तेन्दुलकर र युवराज सिंहको कीर्तिमान तोड्दै घरेलु प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
१३ वर्षको उमेरमा उनले अस्ट्रेलियाविरुद्धको १९ वर्षमुनिको युवा टेस्ट शृंखलामा ५८ बलमै शतक प्रहार गरेका थिए । यो १९ वर्षमुनिको टेस्ट क्रिकेट इतिहासकै दोस्रो सबैभन्दा छिटो शतक थियो । उनले ६२ बलमा १०४ रन बनाउने क्रममा १४ चौका र ४ छक्का प्रहार गरेका थिए ।
उनले लिस्ट–ए क्रिकेटमा हालसम्म ८ खेल खेल्दै ४४.१२ को औसत र १६४.९५ को स्ट्राइक रेटमा ३५३ रन बनाएका छन् । यस क्रममा उनको उच्च स्कोर १९० रन रहेको छ । उनले यस ढाँचामा एक शतक र एक अर्धशतक प्रहार गरेका छन् । साथै ३७ चौका र २३ छक्का पनि हानेका छन् ।
आइपिएलको २०२५ मा उनले केवल ७ खेलमा २५२ रन बनाएका थिए । जसमा एक शतक र एक अर्धशतक समावेश थियो । यिनै प्रदर्शनका आधारमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले उनलाई भारत–ए टोलीमा स्थान दिएको हो ।
एशिया कप राइजिङ स्टार्स टी–२० प्रतियोगिता २०२५ मा वैभवले ४ खेलमा ५९.७५ को औसत र २४३.८७ को स्ट्राइक रेटमा २३९ रन बनाएका थिए । यस क्रममा उनले १४४ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । प्रतियोगितामा उनले एक शतक प्रहार गर्नुका साथै २० चौका र २२ छक्का पनि हानेका थिए ।
जुनमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि भारत–ए टोलीमा प्रियांश आर्य, वैभव सूर्यवंशी, आयुष बडोनी, निशान्त सिन्धु र अंशुल कम्बोजजस्ता युवा खेलाडीलाई अवसर दिइएको छ । विकेटकिपरतर्फ प्रभसिमरन सिंह र कुमार कुशाग्र टोलीमा रहेका छन् ।
प्रतियोगिताका सबै खेल दाम्बुलामा खेलाइनेछन् । त्यसपछि भारत–ए टोलीले श्रीलंका–एसँग दुई बहुदिवसीय खेल पनि खेल्नेछ । त्यसका लागि छुट्टै टोली पछि घोषणा गरिने बताइएको छ ।
भारत–ए टोलीमा तिलक वर्मा कप्तान रहेका छन् भने प्रियांश आर्य, वैभव सूर्यवंशी, रियान पराग, आयुष बडोनी, निशान्त सिन्धु, हर्ष दुबे, सूर्यांश शेडगे, प्रभसिमरन सिंह, कुमार कुशाग्र, विपराज निगम, यश ठाकुर, युधवीर सिंह, अंशुल कम्बोज र अरशद खान समावेश छन् ।









