• २०८३ बैशाख ३१ बिहीबार

कोलकोता उच्च अदालतमा आफै बहस गर्न पुगिन पूर्व मुख्यमन्त्री ममता

कोलकोता उच्च अदालतमा आफै बहस गर्न पुगिन पूर्व मुख्यमन्त्री ममता

काठमाडौँ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी कोलकोता उच्च अदालतमा बहस गर्न  पुगेकी छन् । यसअघि केही दिनअघि उनले मतदाता नामावलीको विशेष पुनरावलोकनसम्बन्धी विषयमा सर्वोच्च अदालतमा बहस गरेकी थिइन् ।

तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा पार्टी अध्यक्ष ममता बनर्जी पश्चिम बंगालमा भारतीय जनता पार्टीले चुनावपछि फैलाएको भनिएको हिंसासम्बन्धी मुद्दामा पक्ष राख्न स्वयं अदालत पुगेको जनाएको छ ।

पार्टीले ममता बनर्जीले कठिन समयमा बंगालका जनतालाई कहिल्यै नछोड्ने र सत्य, न्याय तथा संवैधानिक मूल्यका लागि निरन्तर संघर्ष गर्ने नेतृको रूपमा आफूलाई फेरि प्रमाणित गरेको दाबी गरेको छ ।

स्थानीय पत्रिका द टेलिग्राफका अनुसार ममता बनर्जी वरिष्ठ तृणमूल नेता चन्द्रिमा भट्टाचार्य र कल्याण बनर्जीसहित अदालत पुगेकी थिइन् । तृणमूल कांग्रेसका तर्फबाट अधिवक्ता एस बन्दोपाध्यायले दायर गरेको निवेदनमा चुनावपछि धेरै पार्टी नेता तथा कार्यकर्तालाई घर छाडेर भाग्न बाध्य पारिएको उल्लेख गरिएको छ । साथै तृणमूल कांग्रेससँग सम्बन्धित भएकै कारण धेरैमाथि आक्रमण भएको दाबी गरिएको छ ।

यो निवेदन मे १२ मा कलकत्ता उच्च अदालतमा दर्ता गरिएको थियो । चुनावपछि विभिन्न क्षेत्रमा तृणमूल कांग्रेसका कार्यालयमा तोडफोडका घटना सार्वजनिक भएका थिए ।

यता भारतीय जनता पार्टीका नेताहरूले भने ती घटनामा संलग्न धेरै व्यक्ति चुनाव परिणामपछि भारतीय जनता पार्टी समर्थक बनेर देखिएका तृणमूल कार्यकर्ता रहेको आरोप लगाएका छन् ।

प्रदेश अध्यक्ष शमिक भट्टाचार्य, विपक्षी दलका नेता शुभेन्दु अधिकारीलगायत भारतीय जनता पार्टीका नेताहरूले बारम्बार आक्रमणको पछाडि भारतीय जनता पार्टी समर्थक बनेका तृणमूल कार्यकर्ता रहेको दाबी गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै