काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनफिङले ट्रम्पलाई स्वागत गरेका थिए । त्यस क्रममा ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरिएको थियो भने दुवै नेताले हात मिलाएका थिए ।
दुई नेताबीच करिब दुई घण्टा लामो बैठक भएको थियो । बैठकको सुरुवातमा जिनपीङले विश्वभरको ध्यान यस भेटवार्तातर्फ केन्द्रित रहेको बताएका थिए । उनले विश्व तीव्र रूपमा परिवर्तन भइरहेका बेला अमेरिका र चीनबीचको सम्बन्ध विश्व स्थिरताका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।
जिनपीङले अमेरिका र चीन प्रतिस्पर्धीभन्दा पनि साझेदार बन्नुपर्ने धारणा राखे । जवाफमा ट्रम्पले जिनपीङको प्रशंसा गर्दै उनलाई आफ्नो मित्र भन्न पाउनु सम्मानको विषय भएको बताएका थिए । उनले अमेरिका र चीनबीचको सम्बन्ध अझ राम्रो हुने दाबी पनि गरे ।
ट्रम्पले आफू संसारका ठूला व्यापारिक समूहका नेतृत्वकर्तासहित चीन आएको पनि बताएका छन् । यस भ्रमणमा विशेषगरी अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग हुन सक्ने ठूलो सम्झौताले चर्चा पाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार चीनले बोइङबाट करिब नौ लाख करोड रुपैयाँ बराबरका विमान खरिद गर्ने तयारी गरिरहेको छ । यो सम्झौता भए विश्वकै ठूलो उड्डयन सम्झौतामध्ये एक बन्न सक्ने बताइएको छ ।
बैठकमा व्यापार, भन्सार कर, अर्धचालक प्रविधि, कृत्रिम बौद्धिकता, ताइवान र इरान युद्धलगायत विषयमा छलफल भएको जनाइएको छ । पछिल्ला केही वर्षदेखि व्यापार, प्रविधि र भन्सार करका विषयमा अमेरिका र चीनबीच तनाव रहँदै आएको छ ।
दुई घण्टे बैठकपछि जिनपीङले अमेरिकी व्यापारिक नेतृत्वसँग पनि भेट गरेका थिए । उनले चीनको बजार अमेरिकी कम्पनीका लागि अझ खुला हुने र त्यहाँ थप अवसर उपलब्ध हुने बताएका छन् । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जिनपीङले अमेरिकी कम्पनीले लामो समयदेखि चीनको विकासमा योगदान पुर्याएको र त्यसबाट दुवै देशलाई लाभ पुगेको बताएका थिए ।
उनले चीनले अमेरिकासँग पारस्परिक सहकार्य अझ सुदृढ बनाउन चाहेको उल्लेख गर्दै अमेरिकी कम्पनीका लागि चीनमा अझ ठूलो अवसर रहेको बताए । ट्रम्पले भने लामो समयदेखि चीनमाथि बढी अमेरिकी सामान खरिद गर्न दबाब दिँदै आएका छन् ।
बैठकका क्रममा जिनपीङले ताइवानको विषय अमेरिका-चीन सम्बन्धको सबैभन्दा संवेदनशील र महत्वपूर्ण मुद्दा रहेको बताएका थिए । उनले यो विषय सही ढंगले व्यवस्थापन गर्न नसके दुवै देशको सम्बन्ध अत्यन्त खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जिनपीङले ताइवान मुद्दा ठीकसँग सम्हालिए अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरता कायम रहन सक्ने बताएका थिए ।
ताइवान लामो समयदेखि अमेरिका र चीनबीचको सबैभन्दा संवेदनशील विषयमध्ये एक रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सैन्य तथा राजनीतिक समर्थन गर्दै आएको छ । पछिल्ला वर्षहरूमा अमेरिकाले ताइवानलाई अर्बौं डलर बराबरका हतियार सहायता प्याकेज स्वीकृत गरेको छ, जसको चीनले निरन्तर विरोध गर्दै आएको छ ।
बेइजिङमा जारी शिखर वार्ताका क्रममा जीङपीङले व्यापार युद्धमा कसैको जित नहुने बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उनले अमेरिका र चीनका व्यापारिक टोलीबीच हालै भएका वार्ताबाट सन्तुलित र सकारात्मक नतिजा निस्किएको बताएका थिए ।
उनले चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको आधार पारस्परिक लाभ र सहकार्य भएको उल्लेख गर्दै सकारात्मक वातावरण कायम राख्न दुवै देशले मिलेर काम गर्नुपर्ने बताएका छन् ।









