काठमाडौँ । इन्डोनेसियाको माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा दुई विदेशी नागरिकसहित तीन जना ट्रेकरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ज्वालामुखी विस्फोट हुँदा पहाड क्षेत्रमा २० जना ट्रेकर रहेका थिए । तीमध्ये नौ जना सिङ्गापुरका नागरिक थिए भने अन्य इन्डोनेसियाली नागरिक रहेका थिए । हालसम्म १५ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ । केही व्यक्तिलाई सामान्य चोट लागेको जनाइएको छ ।
विस्फोटपछि ज्वालामुखीबाट करिब १० किलोमिटरसम्म खरानी र धुवाँको मुस्लो आकाशतर्फ उडेको थियो । प्रशासनले आसपासका क्षेत्रमा खरानी खस्न सक्ने चेतावनी जारी गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
इन्डोनेसिया ज्वालामुखी निगरानी एजेन्सी ले गत डिसेम्बरदेखि ज्वालामुखीको क्रेटर वरिपरि चार किलोमिटर क्षेत्रलाई प्रतिबन्धित घोषणा गरेको थियो । प्रहरीले ट्रेकरहरूले चेतावनी बोर्ड र सुरक्षा अलर्ट बेवास्ता गरेको जनाएको छ ।
घटनापछि प्रहरीले एक ट्रेकिङ गाइड र एक भरियालाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि पर्यटकलाई प्रतिबन्धित क्षेत्रमा लगेको आरोप लगाइएको छ । अधिकारीहरूले घटनामा आपराधिक कारबाही हुन सक्ने बताएका छन् ।









