काठमाडौँ । मध्यपूर्वमा जारी युद्धबीच कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार वर्षयताकै उच्च स्तर हो ।
पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १२६.२० डलर प्रति ब्यारेल पुगेको छ, जुन २०२२ को मार्चपछिको सबैभन्दा उच्च हो । यसअघि ८ मार्च २०२२ मा तेलको मूल्य १२७.९८ डलर पुगेको थियो । गत साता भने मूल्य करिब १०० डलर आसपास रहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा सैनिक नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएपछि बजारमा प्रभाव परेको हो । उनले इरानले आफ्नो परमाणु कार्यक्रमबारे सहमति नगरेसम्म नाकाबन्दी नहट्ने बताएका छन् ।
यस निर्णयले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक होर्मुज क्षेत्रमा तनाव बढाएको छ, जसका कारण तेल आपूर्तिबारे अनिश्चितता थपिएको छ ।
यता इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले मूल्यवृद्धिप्रति व्यंग्य गर्दै अब तेलको मूल्य १४० डलरसम्म पुग्ने संकेत गरेका छन् । उनले ट्रम्पलाई गलत सल्लाह दिइएको आरोपसमेत लगाएका छन् । त्यस्तै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टमाथि पनि उनले टिप्पणी गर्दै उनको सल्लाहका कारण तेलको मूल्य बढिरहेको बताएका छन् ।
इतिहासमा सबैभन्दा उच्च तेल मूल्य सन् २००८ मा पुगेको थियो, जतिबेला ब्रेन्ट कच्चा तेल करिब १४७ डलर प्रति ब्यारेल पुगेको थियो । विज्ञहरूले वर्तमान अवस्था हेर्दा मूल्य अझै बढ्न सक्ने आकलन गरेका छन् । यदि होर्मुज मार्ग लामो समय अवरुद्ध भएमा तेलको मूल्य १५० देखि २०० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।









