काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउँदै फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।
सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाउदै यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले काँग्रेसको देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि सभापति थापाको प्रतिक्रिया आएको हो ।
उनले पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुने विश्वास व्यक्त गर्दै पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी आफ्नो भएको र आफु त्यसअनुसार सक्रिय रूपमा लाग्ने बताएका छन् ।
सभापति थापाले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको बताउदै महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न समेत आव्हान गरेका छन् ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब सबै एक ढिक्का भएर अघि बढ्न समेत आव्हान गरेका छन् ।









