काठमाडौँ । युद्धविराम लागू भएसँगै लेबनानमा विस्थापित नागरिकहरू घर फर्किन थालेका छन् । सिडोन शहरमा शुक्रबार बिहानदेखि मानिसहरू आफ्नो बासस्थानतर्फ फर्किएको जनाइएको छ ।
यस द्वन्द्वका कारण विशेषगरी दक्षिणी लेबनानबाट १० लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका थिए । युद्धविरामपछि सडकहरूमा सवारीसाधनको लामो लाइन देखिएको छ भने सर्वसाधारणले झण्डा फहराउँदै अस्थायी राहतको स्वागत गरेका छन् ।
कतिपय मानिसहरू पूर्व हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको तस्वीर बोकेर देखिएका छन् । उनलाई सन् २०२४ सेप्टेम्बरमा भएको आक्रमणमा मारिएको थियो ।
यसैबीच युद्धविरामपछि इजरायलमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । धेरै नागरिक यस निर्णयप्रति असन्तुष्ट रहेको जनाइएको छ । एक सर्वेक्षणअनुसार अहिले चुनाव भए प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको दललाई घाटा हुन सक्ने देखिएको छ, जसले युद्धविरामप्रति असन्तुष्टि बढेको संकेत गर्दछ ।
उक्त सर्वेक्षणले ५६ प्रतिशत नागरिक दक्षिणी लेबनानमा सेना कायम रहोस् भन्ने पक्षमा रहेको देखाएको छ । उत्तरी सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूमा भने आक्रोश बढ्दो छ । उनीहरूले यस द्वन्द्वको मूल्य आफ्नै ज्यानले चुकाउनु परेको गुनासो गरेका छन् ।
एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै युद्धविराम अमेरिकाको दबाबमा भएको दाबी गरिएको छ ।









