काठमाडौं। दक्षिण एसियाली मोटोपना फोरम (साउथ एसियन ओबेसिटी फोरम) (एसओएफ) ले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय मोटोपना कांग्रेस काठमाडौंमा आयोजना गरेको छ ।
स्वास्थ्य सम्मेलनमा विश्वका विभिन्न देशका करिब ४० अन्तर्राष्ट्रिय विज्ञ, १५० विदेशी प्रतिनिधि तथा नेपालभरिबाट झन्डै ४०० सहभागी भएको आयोजकले जानकारी दिएका छन् । यो कांग्रेसलाई विश्वभर तीव्र गतिमा बढ्दो सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिएको मोटोपनाको विषयमा क्षेत्रीय तथा वैश्विक सहकार्यका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा हेरिएको छ ।
सम्मेलनमा विभिन्न देशका विशेषज्ञहरूले मोटोपनाको बढ्दो प्रकोप र यसबाट उत्पन्न हुने स्वास्थ्य जटिलता जस्तै, मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोग, फ्याटी लिभर र हर्मोनल विकारबारे गहन छलफल गर्नेछन्। साथै, मोटोपनालाई केवल जीवनशैलीको समस्याका रूपमा नहेरी एक जटिल तथा दीर्घकालीन रोगका रूपमा बुझ्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको आयोजकले बताएका छन् ।
आयोजकका अनुसार, यस कांग्रेसको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि गर्नु, प्रारम्भिक रोकथामलाई प्रोत्साहन दिनु र प्रमाणमा आधारित उपचार पद्धतिलाई व्यापक बनाउनु हो । यसका साथै चिकित्सक, अनुसन्धानकर्ता र नीतिनिर्मातालाई ज्ञान आदानप्रदान गर्ने तथा दक्षिण एसियाको विशिष्ट स्वास्थ्य परिवेशअनुकूल समन्वित रणनीति खोज्ने अवसर पनि प्रदान गर्नेछ ।
क्षेत्रभर मोटोपनाको दर बढ्दै गइरहेको सन्दर्भमा विशेषज्ञले यसका कारण र परिणाम दुवैलाई सम्बोधन गर्न बहुक्षेत्रीय, तत्काल र ठोस प्रतिकार्यको आवश्यकता रहेको चेतावनी दिएका छन् । काठमाडौं कांग्रेसले संवाद, अनुसन्धान साझेदारी र क्षेत्रीय सहकार्यमार्फत यस दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।









