काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा भएको अनियमितता प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार तत्कालीन प्रशासन अधिकृत शंकर थापा, कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ गलकोटका हिमबहादुर बस्नेत थापा मिलेमतोमा संलग्न रहेको पाइएपछि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
अनुसन्धानका क्रममा हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको पुरानो सवारी चालक अनुमतिपत्र जारी नभएको तथ्य हुँदाहुँदै सरकारी अभिलेखमा गैरकानुनी रूपमा विवरण सच्याएर नयाँ अनुमतिपत्र तयार गरिएको खुलेको छ। उनीहरूले विद्युतीय र कागजी अभिलेखमा हेरफेर गरी झुट्टा विवरण प्रविष्ट गर्दै २० वर्षसम्म मान्य रहने अनुमतिपत्र बनाएको आयोगले जनाएको छ ।
सोही आधारमा २०७८ चैत १५ गते अनुमतिपत्रको प्रतिलिपिसमेत उपलब्ध गराइएको पुष्टि भएको छ । आयोगले सरकारी अभिलेखमा किर्ते गरी भ्रष्टाचार गरेको निष्कर्षसहित तीनै जनालाई कानुनबमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।









