• २०८३ जेठ २३ शनिबार

नेपालमा वायु प्रदूषण नियन्त्रण गर्न विश्व बैंकको ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

नेपालमा वायु प्रदूषण नियन्त्रण गर्न विश्व बैंकको ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न र वायु गुणस्तर व्यवस्थापनलाई सुदृढ बनाउन विश्व बैंकले ५२ मिलियन अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले 'नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना' का लागि उक्त रकम स्वीकृत गरेको हो । यस परियोजनामार्फत उद्योग तथा व्यावसायिक क्षेत्रबाट हुने वायु प्रदूषण घटाउने र देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई मजबुत बनाउने लक्ष्य राखिएको छ ।

परियोजनाले विशेषगरी उद्योग र व्यापारिक क्षेत्रमा प्रयोग हुने बोइलर तथा भट्टीबाट निस्कने सूक्ष्म कण (पीएम २.५) उत्सर्जन घटाउन सहयोग गर्नेछ । परियोजना मुख्य रूपमा काठमाडौँ उपत्यका, तराई क्षेत्र र आसपासका पहाडी भेगमा केन्द्रित हुनेछ, जहाँ वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि डिभिजन निर्देशक डेभिड सिसलेनले वायु प्रदूषण नेपालका लागि केवल स्वास्थ्य समस्या मात्र नभई ठूलो आर्थिक चुनौती भएको बताएका छन् । उनका अनुसार प्रदूषणका कारण स्वास्थ्य खर्च बढ्नु र श्रम उत्पादन घट्नुले नेपालको कुल राष्ट्रिय उत्पादनको ६ प्रतिशतभन्दा बढी बराबरको आर्थिक क्षति प्रत्येक वर्ष भइरहेको छ ।

उनले यस परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ र प्रभावकारी प्रविधि अपनाउन सहयोग गर्ने बताए । यसबाट सञ्चालन खर्च घट्ने, उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र दीगो औद्योगिक विकासलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा औद्योगिकीकरण विस्तार हुँदै जाँदा आगामी वर्षहरूमा उद्योगबाट हुने प्रदूषण वायु प्रदूषणको सबैभन्दा ठूलो स्रोत बन्न सक्ने अनुमान गरिएको छ । यही जोखिमलाई ध्यानमा राख्दै परियोजनामार्फत स्वच्छ उत्पादन प्रविधि प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

यस योजनाअन्तर्गत करिब ४०० उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई विद्युतीय बोइलर र भट्टी, आधुनिक बायोमास प्रविधि तथा उन्नत उत्सर्जन नियन्त्रण प्रविधि अपनाउन आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। यसबाट वायु गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

विश्व बैंकका दक्षिण एशिया क्षेत्रका वरिष्ठ वातावरणीय अर्थशास्त्री मार्टिन हेगरका अनुसार नेपालमा स्वच्छ प्रविधि अपनाउन उच्च प्रारम्भिक लगानी, दीर्घकालीन वित्तीय पहुँचको कमी र प्राविधिक क्षमताको अभाव प्रमुख चुनौतीका रूपमा देखिएका छन् । परियोजनाले दीर्घकालीन वित्तीय सुविधा, पूँजी प्रोत्साहन र प्राविधिक सहयोग उपलब्ध गराएर उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ रूपान्तरण गर्न सहयोग गर्ने उनले बताए ।

यो परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले कार्यान्वयन गर्नेछन्। स्वच्छ प्रविधि वित्तीय सुविधाको व्यवस्थापन राष्ट्रिय वाणिज्य बैंकमार्फत गरिने जनाइएको छ ।

विश्व बैंकको ऋण सहयोगसँगै यस परियोजनामा ५० लाख अमेरिकी डलर अनुदान पनि समावेश गरिएको छ । यो अनुदान बेलायतको विदेशी, राष्ट्रमण्डल तथा विकास कार्यालय र स्विट्जरल्यान्डको विकास तथा सहयोग एजेन्सीले सहयोग गरेको 'रेजिलियन्ट एशिया कार्यक्रम' बाट प्राप्त भएको हो ।

उक्त परियोजना विश्व बैंकले इन्डो-गंगेटिक मैदान र हिमालय आसपासका क्षेत्रमा सञ्चालन गरिरहेको क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमको एक हिस्सा पनि हो । यी क्षेत्रहरू विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने क्षेत्रमध्ये मानिन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै