काठमाडौं । नेकपा (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा सैन्य मञ्च टुँडिखेल काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको घटनाप्रतिआपत्ति जनाएको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेपाली जनताको सहमति बिना रहस्यमय तरिकाले सैन्य परेड खेलाएको भन्दै आपत्ति जनाएको छन् ।
सैनिक दिवसको अवसरमा आइतबार नेपाली सेनाको विशेष कार्यक्रममा अमेरिका र बेलायतका सैनिकले परेडसहितको प्रस्तुति दिएको विषय विवादमा परेको छ ।
विप्लवले यो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भर्त्सना गर्दै सरकारको जवाफ माग गरेका छन् । उनले भनेका छन्- '२०८२ फागुन ३ गतेका दिन नेपाली सेना दिवसको अवसरमा सैन्य मंच काठमाण्डौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले हाम्रो मात्र होइन सारा नेपाली जनताको ध्यान केन्द्रीत गरेको छ । अमेरिकी हस्तक्षेप बारे अनेकौं विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गंभीर खेलवाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भर्त्सना गर्दछौं ।'
उनले यस घटना बारे राज्यको धारणा यथासिघ्र सार्वजनिक गर्न माग गर्दै देशको स्वाधीनता दिन प्रतिदिन खतरामा पर्दै गएको सन्दर्भमा यस्ता कार्यप्रति सजक रहन र आवश्यकता अनुरुप प्रतिरोधका निम्ति तयार रहन आम नेपाली जनतालाई विशेष आह्वान गरेका छन् ।









