• २०८३ बैशाख ५ शनिबार

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।

गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो ।  हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । 

बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडिनै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए । 

कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे । उनले भने- 'आयोजनाबाट विद्युत उत्पादन सुरुभएपछि हिउँदयामको विद्युत माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।’ 

बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवक्र्समा ठूल्ठूला ढुंगा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत उत्पादनपछि नदीलाई पानी पढाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रुपमा डुबेको थियो । 

उक्त दिन जलविद्युत आयोजनामा कार्यरत २२ जना कर्मचारीहरुलाई हेडवक्र्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रुपमा बगाएको थियो ।  बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।  

आयोजनाबाट १६ पुस २०८१ बाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाबाट विद्युत उत्पादन बन्द थियो । आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै