काठमाडौँ । टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी लिलामीमा १.७८ मिलियन पाउण्ड अर्थात लगभग ३३ करोड २५ लाखमा बिक्री भएको छ।
इसिडोर स्ट्रस र उनकी श्रीमती इडा, साउथह्याम्प्टनबाट न्यूयोर्क जाँदै गर्दा अप्रिल १४, १९१२ मा टाइटानिक हिमशिलासँग ठोक्किँदा मृत्यु भएका लगभग १५ सय जनामध्ये थिए । दुर्घटनाको केही दिनपछि एट्लान्टिकबाट उनीहरूको शव बरामद गरिएको थियो र उनीहरूको सामानमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी पनि समावेश थियो ।
घडी स्ट्रस परिवारमा संरक्षित गरिएको थियो र शनिबार विल्टशायरको डेभाइजेसमा रहेको हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्समा बेचिएको थियो । स्ट्रस एक अमेरिकी व्यापारी, राजनीतिज्ञ र न्यूयोर्कमा मेसीको डिपार्टमेन्ट स्टोरका सह-मालिक थिए ।
दुर्घटना पछि, उनकी श्रीमतीले लाइफबोटमा ठाउँ दिन अस्वीकार गरेको विश्वास गरिन्छ किनभने उनी आफ्नो पतिलाई छोड्न चाहन्नन् र उनीसँगै मर्ने बताएकी थिइन् ।
इडा स्ट्रसले जहाजमा चढ्दा टाइटानिक स्टेशनरीमा लेखिएको एउटा पत्र पोस्ट गरेकी थिइन् । यो पत्र लिलामीमा एक लाख पाउण्ड अर्थात करिब एक करोड ८७ लाखमा बिक्री भएको थियो ।
टाइटानिकका सम्झना वस्तुहरूको यो लिलामीले कुल ३० मिलियन पाउण्ड अर्थात् लगभग ५ अर्ब ६० करोड उठाएको बताइएको छ ।









