• २०८२ कार्तिक २६ बुधबार

मेलम्ची बारे सरकार र संघर्ष समितिबीच सहमति, के के विषयमा भयो सम्झौता ?

kharibot

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा भएको वार्ता सफल भएको छ  । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको समुपस्थिति भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको हो । 

मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

सरकार र आन्दोलनरत स्थानीयबीच भएको सहमति :

मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढी पीडित संघर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाहरुबाट समय समयमा राखिएका मागका विषयका सम्बन्धमा मन्त्रालयको नेतृत्त्व तहबाट मिति २०८१-६- २१ मा स्थलगत रुपमा व्यक्त प्रतिबद्दताहरुलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने ध्येयले, नेपाल सरकार, सहरी विकास, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका माननीय मन्त्री श्री कुलमान घिसिङ्गज्यूको समुपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समिति समेतको उपस्थितिमा माथि उल्लेखित समितिका पदाधिकारीहरुबीच छलफल भई देहाय बमोजिमको समझदारी गर्न सहमत भएका छौँ । यस समझदारी पत्रको एक प्रति नेपाल सरकारसमक्ष पेश गर्दछौँ।

तपशिल

(क) खानेपानी मन्त्रालयलेः

१. मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि दफा ६ मा भएको व्यवस्था अनुसार अर्थ मन्त्रालयबाट पूँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आ.व. २०७९/०८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनको लागि ८३% स्थानीय तहहरुबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेश गर्ने ।

२. मिति २०७८।०३।०१, २०७८।४।१६ र १७ गते मेलम्ची क्षेत्रका ४ वटा नदी (मेलम्ची, यांग्री, लार्के र इन्द्रावती) मा आएको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्यन गरि सिफारिस गर्न सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समिति मार्फत् सत्य तथ्य संकलन गरी राहत तथा क्षतिपूर्तिका लागि प्रकृया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गर्ने । उक्त समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पिडित पक्षको तर्फबाट ३ जना प्रतिनिधि रहने गरी प्रकृया अगाडि बढाउने र यस कार्यलाई ३ महिना भित्र सम्पन्न गर्ने ।

३. नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८१।०२।०३ मा स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयवाट हालसम्म निकासा हुन नसकेकोले निकासा गराई १५ दिन भित्र निकासा गर्ने ।

४. मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण (लेवी) निर्धारणका सम्बन्धमा यस अघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पैतालिस (४५) दिन भित्र नेपाल सरकार (मन्त्रिपरिषद) मा पेश
गर्ने।

५ . मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आ.व. को लागि प्रस्ताव गर्ने ।

(ख) मेलम्ची खानेपानी बिकास समिति र सडक विभागले:

१. चालु आ.व.२०८२/०८३ मा स्वीकृत मेलम्ची थांगपालधाप थांगपालकोट भोतांग यांग्री सडक र फटे दाउचेत केउरिनी बाँसखर्क बरुवा बोल्गांग यांग्री सडकमा विनियोजित बजेट सडक विभागमा रकमान्तर गर्ने र बहुबर्षीय ठेक्का ब्यबस्थापनका लागि थप रकम निकासाको प्रक्रिया तत्काल अगाडि बढाउने । मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माण कार्यका लागि विनियोजन भएको बजेट रकम मध्ये रु. २५ करोड सडक विभागलाई हस्तान्तरण भई सकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया मंसिर महिनाभित्र अगाडी बढाउने। उक्त सडकलाई बहुबर्षीय ठेक्का योजना अन्तर्गत रु. १ अर्बको श्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले टेण्डर प्रकृया तत्काल अगाडि बढाउने । गल्फुभन्ज्यांग - चित्रे - ग्याल्थुम अडिट चनौटे रातोपुल, पाल्चोक देवीथान, बरुवाको लागि सडक विभागमा अनुरोध गर्ने ।

२. मेलम्ची खानेपानी विकास समिति गठन आदेश, २०७९ संशोधन भए पछि स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम रु ४ करोड र थप रकम रु. १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने । उक्त रकमबाट कार्यक्रम संचालन गर्दा हेलम्बु क्षेत्र को पूर्वाधार विकासलाई प्राथमिकता दिने ।

३. समितिको आयोजना साइटमा मिति २०८२/०७/२० मा खोलाको पानी टनेलतर्फ जान अवरोध गर्ने क्रममा भएको क्षतिको विवरण नेपाल प्रहरी मार्फत मुचुल्का उठाई मर्मत सम्भारको कार्य अगाडी बढाउने ।

४. बाहुनेपाटी स्थित नागरिकको जग्गा तथा घर निर्माण व्यवसायी कम्पनी CMC ले भाडामा लिइरहेको जग्गा तथा घर कम्पनीले निर्माण कार्य छोडेको मितिदेखि आयोजनाको तर्फबाट सामानको सुरक्षा गर्न लगाइएको तालाको कारण सृजना भएको भाडाको दायित्व भुक्तानी गर्ने सम्बन्धमा मेलम्ची खानेपानी विकास समितिले प्रकृया पुर्याई खानेपानी मन्त्रालयमा पेश गरि १५ दिन भित्र भुक्तानी दिने।

५. मेलम्ची आयोजना प्रभावित क्षेत्र, बाढीपिडित तथा मृतक परिवारलाई KUKL र मेलम्ची खानेपानी विकास समितिमा रोजगारीको लागि प्राथमिकता दिने ।

६. मेलम्ची, यांग्री, लार्के र इन्द्रावती खोलाको प्रभावित क्षेत्र समेतलाई समेट्ने गरि EIA को स्कोपिंग गर्न नयाँ परामर्शदातालाई निर्देशन दिने ।

७. VS1 र VS2 जोड्ने सडक, आमा यांग्री सिढी निर्माण तथा हेलम्बु गा.पा. ७ वटै वडाहरूको लागि आगामी आ.व. मा बजेट बिनियोजन गर्ने ।

(ग) सामाजिक उत्थान कार्यक्रम समिति, बाढी पिडित संघर्ष समिति, भेण्डर र भाडावाल समेतले:

१. मिति २०८२/०७/२० गते देखि मेलम्ची खोलाको पानी टनेलमार्फत उपत्यकामा ल्याउन खोला छेकी गरिएको अबरोध तत्काल अन्त्य गरी पथान्तरणमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने,

२. मेलम्ची आयोजना प्रभावित क्षेत्रमा संचालन गरिएका आन्दोलनसँग सम्बन्धित सबै कार्यक्रमहरु स्थगन गर्ने,

३. खानेपानी मानवको आधारभूत अधिकारलाई सम्मान गर्दै विकासको साझेदार रुपमा कार्य गर्ने ।

(घ) माथि उल्लेखित कार्यहरु सम्पादनको निरन्तर अनुगमन तथा समन्वय गरि निर्णय निकाशको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका पूर्वाधार हेर्ने सचिवको अध्यक्षतामा बिषयगत मन्त्रालयका सहसचिव र बाढीपिडित पक्षको तर्फबाट ३ जना रहने गरि उच्चस्तरीय समिति गठन गर्न प्रधानमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयमा अनुरोध गर्ने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै