• २०८३ श्रावण ५ मंगलबार

कविता: कथा

कविता: कथा

संझनलाई अनेक घटनाहरु छन म संग
पार्वती रोइरहेकी छे 
विगत तीन दिन देखि 
प्रसव पीडाले छटपटिएर
नवजात शिशुको आगमन पर्खदै ।

फूलहरु उदास छन 
वसन्त रोएर गएपछि
एक टुक्रो आकाश 
मौनता साँधि बस्छ 
मान्छेहरु के हेरिरहेछन आकाश तर्फ
जीवनका मिठा सपनाहरु गुमाएर ।

बादल आई झ्याप्पै छोप्छ सूर्यलाई
रहरका पारिला दिनहरु देख्न नपाउँदै 
हठात अस्ताइ दिन्छ बूढो सूर्य 
रात पर्छ 
चराहरुको चिरविरै नसुनि,
झुण्ड, झुण्ड देखिन्छन ताराहरु
रात छिप्पिदै गए पछि 
विशाक्त छ चन्द्रमा
औशीका रातहरु निले पछि । 

वसन्तले गाउन नसकेको अधुरो गीत
कस्ले गाउन सक्ला ?
गलाहरु अवरुद्ध भए पछि 
जिन्दगीको चौरस्तामा 
आउन नसकेका थुपै्र खुसीहरु छन 
पीडाले भत्भति पोल्छ मन पनि
आशारामहरु एका एक हराए पछि ।

दुखि रहेको आफ्नै छातीसंग 
धड्कि रहेको एक टुक्रो मुटु बोकी
जिन्दगीका पाइलाहरु गन्दै गन्दै 
क्षितिजको यात्रा चुम्न लाई
ज्वरोले थलिएको शरीर घिसारेर 
यात्रा गर्न सकिएला र ?  
थर थर काँपीरहेको छ शरीर पनि
निर्दोष आँखाहरुलाई दोषी देखाई 
बरालिएको समय 
दिन रात चपाइ दिन्छ कर्याप कर्याप 
समयलाई नै बन्धक राखी ।

मानिसहरु दास जस्तै बनाइका छन 
तिनीहरुको स्वतन्त्रता खोसिएको छ 
धुरु धुरु रुने गर्छन तिनीहरु
आफ्नै पुर्पुरो छामी
मालिक लगाम तान्छ
मानिसहरुलाई ऐंची, ऐंची 
मानिसहरु विवश छन घोडा जस्तै लगारिन
जहान, बाल बच्चाको मुहार हसाँउनको लागि ।

अनेकौ घटनाहरु हुन सक्छन संस्मरणमा
विर्सिएर भुल्न सकिदैन 
संझिरहेको छु दारुण कथाहरु
जो हृदयविदारक मानव धर्म विपरीत छन 
संझिरहेको छ् क्रान्तिका कथाहरु पनि 
दासत्व मोचनका लागि जीवन बली दिनै पर्ने 
बली दिने महान सपुतहरुका कथा पनि । 

(सुन्दरहरैंचा –६, दुलारी, मोरङ)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै