नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको दुम्किवासस्थित विनयी खोलामा अब डाइभर्सन नबनाइने भएको छ ।
बर्षाको समयमा पटक पटक बाढीले डाइभर्सन बगाएको र जोखिमपूर्ण भएकोले अब डाइभर्सन नबनाउने निष्कर्षमा पुगेको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अब डाइभर्सन निर्माण नगरी निर्माण सम्पन्न हुने क्रममा रहेको नयाँ पुलबाट सवारीसाधन चलाउने तयारी गरिएको छ । नयाँ पुलको अन्तिम स्ल्याब ढलान गरेको समेत १५ दिनभन्दा बढी भइसकेकोले अब पुलको अवस्था हेरेर नयाँ पुलबाटनै यातायात संचालन गर्ने गरि सडक विभागले तयारी थालेको बुझिएको छ ।
विहिबार राती मात्र विनयी खोलाको डाइभर्सन भत्किदा एक यात्रुवाहक बस यात्रुसहित बाढीमा परेको थियो । प्रहरीले मध्यरातमा एक्स्काभेटर ल्याएर बसमा रहेका सबै २४ जना यात्रुको उद्धार गरेको थियो भने उद्धार गरेको केहि समय नै बस बाढीले बगाएको थियो । यो घटनापछि सडक प्रशासन यस स्थानमा फेरी डाइभर्सन नबनाउने निष्कर्षमा पुगेको बताइएको छ ।









