कालिकोट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न चेतावनी दिएका छन्।
कालीकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले राजा फर्कने चर्चा बेमौसमी बाजा भएको बताउदै त्यो पुरानो कुरा भइसकेको बताए ।
उनले वंशजको आधारमा शासन गर्ने समय सकिएको उल्लेख गर्दै अब जनताबाट निर्वाचित प्रतिनिधिहरूकै शासन आवश्यक भएको उल्लेख गरे । पूर्वराजा सत्तामा फर्कन चाहे पार्टी खोली चुनाव जित्नुपर्ने बताउँदै नेपालले सडकमा अशान्ति मच्चाएर फर्कन नपाइने चेतावनी दिए ।
उनले हालै भएको हिंसात्मक घटनाहरू स्मरण गर्दै भने, ‘चैत्र १५ मा हाम्रो पार्टी अफिस जलाइयो, पसलबाट रक्सी चोरियो, पत्रकारलाई जीवितै जलाइयो, एक युवकको हत्या भयो र सर्वसाधारणका घरमा आगजनी गरियो। यस्तो हिंसात्मक तरिकाले सत्ता फर्किने सम्भावना छैन ।’
नेपालले वामपन्थी दलहरूबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै समाजवादी मोर्चा गठन भइसकेको जानकारी दिए ।
कार्यक्रमलाई पार्टीका उपाध्यक्ष प्रकाश ज्वाला, सचिव एवं कर्णाली इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तुलाराज सिमखाडा, केन्द्रीय सदस्य विजया बिष्ट, विश्वराज बम, प्रदेश सचिव धीरबहादुर बिष्टलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
चैत ३१ गतेसम्म हुने जिल्लाको १०औँ अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ ।









