• २०८२ बैशाख ५ शुक्रबार

सबैभन्दा धेरै मृत्युदण्ड दिइने देश कुन हो ?

kharibot

काठमाडौँ । विश्वभर मृत्युदण्डको संख्या तीव्र गतिमा बढेको छ । एम्नेस्टी इन्टरनेशनलको नयाँ प्रतिवेदन अनुसार सन् २०२४ मा कुल १५ सय १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

यो २०२३ को तुलनामा ३२ प्रतिशतले बढी र २०१५ पछिको उच्चतम हो । यद्यपि, मृत्युदण्ड दिने देशहरूको संख्या १६ बाट घटेर १५ पुगेको छ ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार विश्वमा सबैभन्दा धेरै मानिसहरूलाई चीनमा मृत्युदण्ड दिइन्छ, तर यसको कुनै तथ्याङ्क उपलब्ध छैन ।

चीन, भियतनाम र उत्तर कोरियामा मृत्युदण्ड धेरै सामान्य छ, तर यी देशहरूले पनि आफ्नो तथ्याङ्क सार्वजनिक गर्दैनन् । उपलब्ध तथ्याङ्क अनुसार, विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड इरानमा दिइन्छ ।

प्रतिवेदनमा सन् २०२४ मा इरानमा कम्तिमा ९७२ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । यसमा ३० जना महिला पनि छन् । सन् २०२३ मा यो संख्या ८५३ थियो । इरानको छिमेकी देश साउदी अरेबियाले ३४५ जनालाई र इराकले ६३ जनालाई मृत्युदण्ड दिएको थियो ।

एम्नेस्टीले इरान र सोमालियामा १८ वर्ष मुनिका चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको बताएको छ । सन् २०२४ मा सार्वजनिक रूपमा फाँसी दिइने दुई देश इरान र अफगानिस्तान हुन् ।

चीनमा मृत्युदण्डको लामो इतिहास छ । आपराधिक गिरोहहरूलाई उन्मूलन गर्न सन् १९८३ मा 'स्ट्राइक हार्ड' नीति लागू गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार यस अवधिमा केही मानिसहरूलाई गाईवस्तु वा सवारी साधन चोरेको आरोपमा मृत्युदण्डको सजाय पनि सुनाइएको थियो । लागूऔषध तस्करहरूलाई विशेष रूपमा लक्षित गरिएको थियो ।

एम्नेस्टीले १९९६ मा गरेको रिपोर्टमा '२६ जुन, अन्तर्राष्ट्रिय लागूऔषध विरोधी दिवसमा, धेरै शहरहरूमा एकै दिनमा २३० भन्दा बढी मानिसहरूलाई मृत्युदण्ड दिइएको उल्लेख थियो  ।

अमेरिकास्थित मानव अधिकार समूह डुई हुआले चीनमा मृत्यु हुनेको संख्या घटेको बताएको छ । सन् २००२ मा यो १२ हजार थियो, अहिले घटेर दुई हजार पुगेको छ । त्यसपछिका वर्षहरूको विवरण दिइएको छैन । 

यसबाहेक, १९७९ को चिनियाँ दण्ड संहितामा ७४ वटा यस्ता मुद्दाहरू थिए, जसमा मृत्युदण्डको प्रावधान थियो । २०११ र २०१५ मा संशोधन पछि, यो अब ४६ भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै