काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्रीप्रति लोयल नभएका कारण हटाएको जवाफ दिएका छन् ।
प्रतिनिधिसभामा जवाफ दिदै प्रधानमन्त्री ओलीले कुनै कर्मचारीबाट विभागीय मन्त्रीले सहयोग पाएन भने काम गर्न नसकिने बताउदै कुलमानलाई हटाउनुको प्रमुख कारणको रुपमा संसदमा जवाफ दिएका छन् ।
उनले भने- 'केही दिनयता संसद् अवरुद्ध छ । सुशासनमा कमी–कमजोरी भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अवरुद्ध छ, यसबाट महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । कर्मचारीबाट असहयोग हुँदा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका कार्य स्वभाविक एवं कानुनसम्मत हुन् ।'
प्रधानमन्त्री ओलीले कर्मचारीलाई हटाउने वा राख्ने विषय उसको गुण र दोषका आधारमा निर्धारण हुने र त्यसको अधिकार विभागीय मन्त्रीलाई हुने स्पष्ट पारेका थिए ।
उनले राष्ट्रसेवक कर्मचारीहरुको गुण र दोष टिप्पणी गर्ने स्थल संसद् नरहेको उनले उल्लेख गरे । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले निर्धारण गरेको र उक्त विधिअनुसार नै सरकारले काम गर्ने उनले बताए ।
उनले भने- 'अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ । चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ, भइरहेको छ । अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुँदैन ।'
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विषयमा प्रतिपक्षले सदन अवरोध गर्न नहुने उनको भनाइ छ । “यो विषयमा मलाई लाग्छ थप बहस नगरौँ, अहिलेको परिस्थितिमा ससाना विषयहरुमा ठूलो बहस विवाद चलाउने समय होइन, अवस्था पनि छैन । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले जवाफ दिएपछि बोलेका माओवादी केन्द्र र रास्वपाक नेताहरुले भने जवाफबाट असन्तुष्ट भएका छन् । माओवादी केन्द्रकी नेतृ रेखा शर्माले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले दिएको जवाफबाट आफुहरु सन्तुष्ट नभएको बताउदै आफुहरुको यसमा अहिले पनि विरोध गरेकी बताएकी थिइन् । त्यस्तै रास्वपा सांसद मनिष झाले कर्मचारी मन्त्रीप्रति लोयल हुनेकी देशप्रति भन्दै प्रधानमन्त्रीले गलत आशयले कुलमानलाई हटाएको आरोप लगाए ।